बुधवार, भाद्र ३१ गते २०८३

Wednesday 16th September 2026

यात्रुवाहक गाडी दुर्घटनामा चार जनाको मृत्यु

मंगलवार , भाद्र ३०, २०८३

हेटौडा,३० भदौ – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा चालकसहित ४जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मंगलबार दिउँसो करिब २ बजे काठमाडौंँबाट वीरगञ्जतर्फ आउदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक ईभी हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत सुकौरास्थित सडकबाट करिब एक हजार मिटर तल खसेर दुर्घटनामा परेकोजिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गाडी चालकसहित चार जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परेका अन्य चार यात्रुमध्ये २ महिला र २ पुरुष घाइते भएका छन्। घाइतेमध्ये दुई पुरुष र एक महिलालाई उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ भने अर्की एक घाइते महिलालाई उपचारका लागि हेटौंडा ल्याइएको छ  ।

दुर्घटनाको जानकारी पाएलगत्तै उद्धारका लागि प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी चौकी खानीखेतबाट प्रहरी सहायक निरीक्षक, इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा ट्राफिक प्रहरीसहित २१ जनाको टोली उद्धार कार्यमा परिचालन गरिएको थियो ।

उक्त गाडीमा चालकसहित आठ जना सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया