काठमाडौँ,३१ भदौ – जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले समूह चरणको कम्तीमा एक खेल जिते क्वार्टरफा Set feature image इनलमा स्थान सुरक्षित गर्नेछ । क्वार्टरफाइनल प्रवेशपछि नेपालको प्रतिद्वन्द्वी एसियाली क्रिकेटका दुई शक्तिशाली टोली भारत वा श्रीलंकामध्ये एक हुने सम्भावना छ ।
एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा यसपटक १० टोली सहभागी हुँदैछन् । नेपाल, अफगानिस्तान र आयोजक जापानलाई समूह ‘ए’ मा राखिएको छ भने समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान रहेका छन् । भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले भने वरीयता र पछिल्लो प्रदर्शनका आधारमा सोझै क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।
प्रतियोगिताको प्रारूपअनुसार प्रत्येक समूहका शीर्ष दुई टोलीले अन्तिम आठमा प्रवेश गर्नेछन् । तीन टोली रहेको समूह ‘ए’ मा नेपालले दुईमध्ये एउटा खेल जित्न सके शीर्ष दुईभित्र पर्नेछ । नेपालले अफगानिस्तानलाई पराजित गर्दै जापानसँग हार बेहोरे पनि एक–एक जितका आधारमा नेपाल र अफगानिस्तान क्वार्टरफाइनल पुग्ने समीकरण बन्नेछ । त्यस्तै जापानलाई हराए पनि नेपाल अन्तिम आठमा पुग्नेछ ।
नेपालले समूह चरणमा आगामी सेप्टेम्बर २५ मा अफगानिस्तानसँग तथा सेप्टेम्बर २६ मा आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ । दुवै खेल जापानको निसिनस्थित क्रिकेट मैदानमा आयोजना हुने तालिका छ ।
क्वार्टरफाइनलमा नेपालको प्रतिद्वन्द्वी भने समूह ‘ए’ मा प्राप्त हुने स्थानले निर्धारण गर्नेछ । प्रतियोगिताको खेल तालिकाअनुसार समूह ‘ए’ को विजेताले श्रीलंकासँग खेल्नेछ भने दोस्रो स्थानमा रहने टोलीले भारतको सामना गर्नेछ । यस आधारमा नेपाल समूह विजेता बने श्रीलंकासँग र उपविजेता बने भारतसँग भिड्ने सम्भावना रहनेछ ।
भारत अघिल्लो संस्करण सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न एसियाली खेलकुदको पुरुष क्रिकेट स्वर्ण पदक विजेता टोली हो । यही कारण भारतलाई पाकिस्तान, बंगलादेश र श्रीलंकासँगै यस संस्करणमा पनि सोझै क्वार्टरफाइनलमा राखिएको हो ।
पुरुष क्रिकेट प्रतियोगिता सेप्टेम्बर २४ देखि अक्टोबर ३ सम्म सञ्चालन हुनेछ । क्वार्टरफाइनल खेल सेप्टेम्बर २८ र २९ मा, सेमिफाइनल अक्टोबर १ मा तथा स्वर्ण पदकका लागि निर्णायक फाइनल खेल अक्टोबर ३ मा हुनेछ ।
एसियाडका लागि नेपालले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा टोली घोषणा गरिसकेको छ । टोलीमा सन्दीप लामिछाने, रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, करण केसी र सोमपाल कामीसहित अनुभवी तथा स्थापित खेलाडीहरू समावेश छन् ।
यस प्रतियोगितामा नेपालको प्रारम्भिक लक्ष्य समूह चरण पार गर्दै क्वार्टरफाइनलमा स्थान बनाउनु हुनेछ । त्यसपछि समूह ‘ए’ को अन्तिम अवस्थाअनुसार नेपालले भारत वा श्रीलंकामध्ये एक बलियो टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ ।