विवादले विकास रोक्नु हुँदैन, सहकार्यले विकास अघि बढ्नुपर्छ। धुरा बजारमा सुरु भएको कालोपत्रे केवल सडक निर्माण होइन, वर्षौंदेखि सास्ती खेपिरहेका नागरिकको राहतको सुरुवात बन्न सकोस्।
सिन्धुली,२२ कात्तिक – लामो समयदेखि स्थानीय विवादका कारण अवरुद्ध मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको धुरा बजार क्षेत्रमा अन्ततः कालोपत्रेको काम सुरु भएको छ ।
मुआब्जा तथा क्षतिपूर्तिसम्बन्धी विवादका कारण सिन्धुली र मकवानपुरका विभिन्न स्थानमा रोकिएको सडक निर्माण कार्य विवाद सहजीकरणपछि पुनः अघि बढाइएको मन्त्री सुनिल लम्सालले जानकारी दिएका छन । निर्माणलाई गति दिन रातिको समयमा समेत काम भइरहेको मन्त्री लम्सालले सामाजिक संजाल मार्फत जानकारी दिएका हुन ।
सडक निर्माण रोकिँदा धुरा बजारका स्थानीय बासिन्दा, व्यवसायी तथा यात्रुले लामो समयदेखि धुलो, धुवाँ र आवागमनको सास्ती भोग्दै आएका थिए । कालोपत्रेको काम सुरु भएसँगै स्थानीयमा अब सडकको धुलोबाट मुक्ति पाइने आशा पलाएको सिन्धुलीका माननीय आशिष गजुरेलले बताए । यसैबीच, सिन्धुलीको ढकालगाउँ र खट्टार बजारमा पनि एक महिनाभित्र कालोपत्रे सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य सुरु गर्ने तयारी गरिएको छ ।
मकवानपुरको चौघडामा निर्माण कार्य जारी रहेको छ भने माझीखोला क्षेत्रमा देखिएको विवाद समाधानका लागि पहल भइरहेको जनाइएको छ । निर्माण पक्षले स्थानीयवासीको सकारात्मक सहयोगको अपेक्षा गरेको जनाएको छ ।
मदन भण्डारी राजमार्ग केवल एउटा सडक आयोजना मात्र होइन, यस क्षेत्रको व्यापार, पर्यटन, यातायात र आर्थिक समृद्धिसँग जोडिएको महत्वपूर्ण पूर्वाधार हो। त्यसैले निर्माणमा देखिएका विवाद समाधान गर्दै निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्नु सबै पक्षको साझा जिम्मेवारी रहेको सिन्धुलीका स्थानीय बताउछन ।
धुरा बजारमा भेटिएका एक स्थानीयले भने,“विकासको आश्वासन होइन, सडकमा सहज यात्रा र धुलोमुक्त जीवन खोजिरहेका छन अब काम सुरु भएको छ, जनताले परिणामको प्रतीक्षा गरिरहेका छन् ।” उनले थपे,“विवादले विकास रोक्नु हुँदैन, सहकार्यले विकास अघि बढ्नुपर्छ । धुरा बजारमा सुरु भएको कालोपत्रे केवल सडक निर्माण होइन, वर्षौंदेखि सास्ती खेपिरहेका नागरिकको राहतको सुरुवात बन्न सकोस् ।