काभ्रेपलाञ्चोक,२२ कात्तिक – बाढीबाट क्षतिग्रस्त बीपी राजमार्गको सिन्धुलीस्थित बर्खेखोला–पिप्ले खण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनर्निर्माण सुरु गरेको छ । २ अर्ब ६० करोड रुपैयाँको सम्झौताअनुसार काम थालिएको हो। अन्य ३ खण्डको निर्माणसमेत तीव्र गतिमा अघि बढेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
डिभिजन प्रमुख सुमन योगेशका अनुसार पिप्ले–भकुण्डेबेँशी खण्डको भौतिक प्रगति ५२ प्रतिशत पुगेको छ । डालाबेँशी–चारसयबेँशीको ८.५ किलोमिटर सडक २०८४ जेठ मसान्त, चारसयबेँशी–भकुण्डेबेँशीको ११.८ किलोमिटर २०८४ असार १७ र पिप्ले–डालाबेँशीको २.३ किलोमिटर २०८४ कात्तिक २६ भित्र सम्पन्न गर्ने लक्ष्य छ ।
यी खण्डमा क्रमशः खानी–एवान–कमलजीत जेभी, लामा–नवकान्तिपुर जेभी र उमा एन्ड कम्पनी–भण्डारी जेभी निर्माणमा संलग्न रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पिप्ले–डालाबेँशीका लागि उमा एन्ड कम्पनी–भण्डारी अमरज्योति जेभीसँग ६८ करोड ८० लाख, डालाबेँशी–चारसयबेँशीका लागि लामा–नवकान्तिपुर जेभीसँग १ अर्ब ४२ करोड र चारसयबेँशी–भकुण्डेबेँशीका लागि खानी–एवान–कमलजीत जेभीसँग १ अर्ब ३३ करोड रुपैयाँमा सम्झौता भएको छ ।
२०८१ असोज दोस्रो साताको रोशी खोलाको बाढीले नमोबुद्धस्थित दाप्चाखोलाको १ नम्बर पुलदेखि सिन्धुलीको नेपालथोकसम्म २९ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो । त्यसमध्ये काभ्रेपलाञ्चोकतर्फको २५.११ किलोमिटरमा ३ खण्ड बनाएर पुनर्निर्माण भइरहेको छ ।
‘पुनर्निर्माण लक्ष्यअनुसार नै भइरहेको छ,’ योगेशले भने। आगामी वर्षायामअघि तीनै खण्डमा पहिलो तहको कालोपत्रे गर्ने तयारी छ । सडक ‘डेडिकेटेड डबल लेन’ मापदण्डमा निर्माण भइरहेको छ । यसअन्तर्गत ५ पुल दुई लेनमा स्तरोन्नति र ६.३ किलोमिटर आरसीसी पर्खाल निर्माण गरिनेछ ।
हाल निर्माणाधीन सडकमै सवारी सञ्चालन भइरहेको छ । चौकीडाँडा, पिन्थली र डालाबेँशी–पिप्ले खण्डका साँघुरा तथा भिराला स्थानमा डाइभर्सनमार्फत दुईतर्फी आवागमनको व्यवस्था गरिएको छ । ‘एक–दुई स्थानमा साँघुरो भएकाले डाइभर्सन बनाइएको छ, अन्यत्र अप्ठेरो छैन,’ योगेशले भने। उनका अनुसार जामको समस्या छैन। वर्षामा लेदो वा पहिरोले सडक अवरुद्ध भए आधा घण्टादेखि केही घण्टाभित्र खुलाउन आवश्यक सामग्री तयारी अवस्थामा राखिएको छ ।
पुनर्निर्माणका लागि सरकारले ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिएको छ । यसमध्ये काभ्रेपलाञ्चोकका ३ खण्डलाई ७ अर्ब ५० करोड र सिन्धुलीको १ खण्डलाई १ अर्ब छुट्याइएको छ ।
पूर्वी तथा मध्यपहाडलाई काठमाडौंसँग जोड्ने छोटो मार्गका रूपमा रहेको १६० किलोमिटर लामो धुलिखेल–सिन्धुली–बर्दिबास राजमार्ग जापान सरकारको अनुदानमा आर्थिक वर्ष २०५३÷५४ देखि चरणबद्ध निर्माण गरिएको थियो । जापानले २०७२ असार १८ गते नेपाल सरकारलाई राजमार्ग हस्तान्तरण गरेको थियो ।