सिन्धुली, १६ कात्तिक – सिन्धुलीको बीपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिका–१, नेपालथोकबाट प्रहरीले ९०.१६० ग्राम खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ । लागूऔषधको अवैध ओसारपसार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार उनलाई नियन्त्रणमा लिएको हो ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले बीपी राजमार्ग हुँदै राजधानी तथा पहाडी जिल्लातर्फ लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा निगरानी बढाएको थियो । सोही क्रममा मोटरसाइकलमा आइरहेका एक व्यक्तिलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्न खोज्दा उनले मोटरसाइकल छाडेर भाग्ने प्रयास गरेका थिए । त्यसपछि प्रहरीले एक राउण्ड हवाई फायर गरी उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–४ निवासी २९ वर्षीय मन्जित योञ्जन रहेको लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाढौले ले पुष्टि गरेको छ । उनको साथबाट ९०.१६० ग्राम खैरो हेरोइन, प्रदेश नं. ३–०२–००९ प १६२२ नम्बरको मोटरसाइकल तथा दुई थान मोबाइल फोन बरामद गरिएको छ ।
प्रहरीले पक्राउ परेका योञ्जनलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीमा बुझाएको जनाएको छ ।
नेपालमा लागूऔषधको कारोबार, खरिद–बिक्री, ओसारपसार, सञ्चय तथा वितरणलाई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ ले निषेध गरेको छ। ऐनको दफा १४ अनुसार अफिम, कोका वा तिनबाट बनेका लागूऔषधसम्बन्धी कसुरमा बरामद परिमाणका आधारमा सजाय निर्धारण हुने व्यवस्था छ। उक्त व्यवस्थाअनुसार २५ ग्रामसम्मको कारोबार प्रमाणित भएमा पाँच वर्षदेखि १० वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ।
लागूऔषधको अवैध कारोबारलाई प्रहरी प्रशासनको सुरक्षा चुनौतीमा मात्र सीमित गरेर हेर्न नमिल्ने सामाजिक अगुवाहरूको भनाइ छ। यसले विशेषगरी युवापुस्ताको शिक्षा, स्वास्थ्य, पारिवारिक सम्बन्ध र भविष्यमा गम्भीर असर पार्न सक्छ। साथै, यस्ता गतिविधिले आपराधिक सञ्जाल विस्तार हुनुका साथै समाजमा असुरक्षा र आर्थिक तथा सामाजिक समस्या बढाउने जोखिम रहन्छ ।