श्रीलंकासँग १६ वर्षपछि खेल्दै नेपाल

सोमवार , आश्विन १२, २०८३

काठमाडौं,१२ असोज – नेपाली क्रिकेट टोली २०औं एसियन गेम्सको पुरुष क्रिकेट प्रतियोगितामा ऐतिहासिक उपलब्धिको लक्ष्यसहित मंगलबार श्रीलंकासँग क्वाटरफाइनलमा भिड्दैछ । एसियन गेम्सकै मञ्चमा नेपाल र श्रीलंका १६ वर्षपछि आमनेसामने हुन लागेका हुन् ।

यसअघि सन् २०१० को ग्वाङ्झाउ एसियन गेम्सको क्वाटरफाइनलमा यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा नेपाल २ विकेटले पराजित भएको थियो । यद्यपि त्यो खेलले टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएको थिएन । नेपाल र श्रीलंकाबीच अहिलेसम्म आधिकारिक टी–२० अन्तर्राष्ट्रिय खेल हुन सकेको छैन । सन् २०२४ को आईसीसी टी–२० विश्वकपमा तय भएको पहिलो भेट पनि वर्षाका कारण टससमेत नभई रद्द भएको थियो ।

मंगलबारको खेल सम्पन्न भएमा यो नेपाल र श्रीलंकाबीचको पहिलो आधिकारिक टी–२० अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुनेछ । सन् २०१० मा नेपाल ७२ रनमै अलआउट भए पनि बलिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो । श्रीलंकाले ८ विकेट गुमाएर ७३ रनको लक्ष्य पूरा गर्दै जित हात पारेको थियो ।

यसपटक नेपाल समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाइनल पुगेको हो । समूह चरणमा नेपालले अफगानिस्तानलाई पराजित गरेको थियो भने जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपछि शीर्ष स्थान सुरक्षित भएको थियो । श्रीलंकालाई हराउन सके नेपाल पहिलोपटक एसियन गेम्स क्रिकेटको सेमिफाइनलमा प्रवेश गर्नेछ, जहाँ सम्भावित प्रतिद्वन्द्वी भारत हुनेछ ।

नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले पदक जित्ने लक्ष्यसहित सबै खेलाडीले शतप्रतिशत योगदान दिइरहेको बताएका छन् । नेपाल यसअघि एसियन गेम्स क्रिकेटमा कहिल्यै क्वाटरफाइनलभन्दा माथि पुग्न सकेको छैन । सन् २०१० मा श्रीलंका, २०१४ मा अफगानिस्तान र २०२२ (२०२३) मा भारतसँग पराजित हुँदै नेपालको यात्रा अन्तिम आठमै रोकिएको थियो ।

तर नेपालका लागि चुनौती श्रीलंकासँग मात्र छैन, मौसम पनि अर्को बाधक बनेको छ । जापानमा लगातार भइरहेको वर्षाका कारण सोमबारका दुवै क्वाटरफाइनल खेल हुन सकेनन् । खेल रद्द भएपछि वरीयताका आधारमा भारत र पाकिस्तान सेमिफाइनल पुगे भने अफगानिस्तान र हङकङ प्रतियोगिताबाट बाहिरिए । नेपाल–श्रीलंका खेल पनि वर्षाका कारण रद्द भए उच्च वरीयताका आधारमा श्रीलंका स्वतः अघि बढ्नेछ ।

श्रीलंकाले एसियन गेम्सका लागि दोस्रो रोजाइको टोली पठाए पनि राष्ट्रिय टोलीबाट खेलिसकेका निरोशन डिक्वेला, आशेन बान्दरा, नुवान थुसारा, चमिका करुणारत्ने र बिनुरा फर्नान्डो जस्ता खेलाडी टोलीमा छन् । कप्तान सहान अराचिगेले टोलीको नेतृत्व गर्नेछन् ।

नेपालले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, गुल्शन झालगायत खेलाडी सम्मिलित टोली उतार्ने सम्भावना छ ।

श्रीलंका र नेपालबीचको क्वाटरफाइनल खेल १३ असोज बिहान ५ः४५ बजे जापानको कोरोगी स्पोट्र्स पार्क, निशिनमा हुनेछ । नेपाली समर्थकको अपेक्षा छ—यसपटक वर्षाले होइन, मैदानको प्रदर्शनले खेलको फैसला होस् र नेपालले इतिहास परिवर्तन गरोस् ।

प्रतिक्रिया