बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते, एकको अवस्था गम्भीर

बिहिवार , कार्तिक २६, २०८३

सिन्धुली,२६ कात्तिक–  मदन भण्डारी लोकमार्गअन्तर्गत सिन्धुलीको मरिण गाउँपालिका–६, धमिलेमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा बाबुछोरासहित चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बागमति प्रदेश प्रहरी कार्यालय हेटौडाले बिहिवार जानकारी दिएको छ ।

प्रदेश प्रहरीका अनुसार बुधबार दिउँसो करिब ३ बजे छाप बजारबाट झनझनेतर्फ जाँदै गरेको बा ९० प ६८२६ नम्बरको मोटरसाइकल दाहिनेतर्फ मोडिने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०६४ प ७८३९ नम्बरको मोटरसाइकलसँग ठोक्किएको हो ।

दुर्घटनामा बा ९० प ६८२६ नम्बरको मोटरसाइकल चालक मरिण गाउँपालिका–६ निवासी ३४ वर्षीय नवराज बम्जन गम्भीर घाइते भएका छन् । शरीरमा भित्री चोट लागेका उनी दुर्घटनापछि बोल्न नसक्ने अवस्थामा थिए । कपिलाकोट स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेटौँडा पठाइएका बम्जनलाई अपराह्न ४ बजेर ५० मिनेटमा मकवानपुर सहकारी अस्पताल पु¥याइएको थियो । त्यहाँ सामान्य उपचारपछि साँझ ६ बजे थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल रेफर गरिएको छ ।

सोही मोटरसाइकलको पछाडि सवार बम्जनका ८ वर्षीय छोरा बसन्त बम्जनको अनुहारमा चोट लागेको थियो । सामान्य अवस्थामा रहेका उनी कपिलाकोट स्वास्थ्य चौकीमा उपचारपछि अपराह्न ४ बजेर ४५ मिनेटमा डिस्चार्ज भएका छन् ।

अर्को मोटरसाइकलका चालक मरिण गाउँपालिका–४, साहान निवासी १९ वर्षीय अमर स्याङताङ पनि घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको छ । प्रारम्भिक उपचारपछि हेटौँडा पठाइएका उनलाई साँझ ५ बजेर ५५ मिनेटमा मकवानपुर सहकारी अस्पताल पु¥याइएको र त्यहीँ उपचार भइरहेको जनाइएको छ । स्याङताङले मादक पदार्थ सेवन गरेको प्रहरी विवरणमा उल्लेख छ ।

त्यस्तै, सोही मोटरसाइकलको पछाडि सवार साहान निवासी १९ वर्षीय क्रान्ती माझीको टाउको र दाहिने खुट्टामा चोट लागेको छ । सामान्य घाइते माझी पनि कपिलाकोट स्वास्थ्य चौकीमा उपचारपछि अपराह्न ४ बजेर ४५ मिनेटमा डिस्चार्ज भएका छन् । दुर्घटनामा संलग्न दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय कपिलाकोटको नियन्त्रणमा रहेका छन् । 

प्रतिक्रिया