हेटौँडा,२६ कात्तिक – मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा बिहीबार बिहान यात्रुवाहक विद्युतीय (ईभी) हाइस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ भने डेढ वर्षीय बालक सुदीप यादवको सकुशल उद्धार गरिएको छ ।
काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत चिसापानीगढीमा दुर्घटनाग्रस्त भएको हो । ऐतिहासिक महत्त्व बोकेको तथा भिरालो भूगोल रहेको उक्त क्षेत्रमा हाइस सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा हालसम्म १० जनाको मृत्यु पुष्टि भएको छ । दुर्घटनाका बेला सवारीसाधनमा चालकसहित १४ देखि १५ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
र्घटनामा मृत्यु भएका १० जना मध्ये अधिकांश एउटै टोलका रहेका छन् । मृतकहरूको सनखत नभए पनि उनीहरू सर्लाहीको चक्रघट्टा गाउँपालिका ४ सुन्दरपुर टोलका उनीहरू रहेको पालिका अध्यक्ष कृष्ण यादवले बताए ।
पालिका अध्यक्ष यादवका अनुसार एउटै टोलका करिब पाँच परिवारका सदस्यहरू सवार गाडी दुर्घटनामा परेको हो
दुर्घटनाबारे बिहान ५ः५५ बजे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको नेतृत्वमा ७ सदस्यीय प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो ।
दुर्गम तथा भिरालो स्थानमा भएको दुर्घटनापछि नेपाल प्रहरीसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी उद्धारमा परिचालित भएका थिए। संयुक्त उद्धार टोलीले अप्ठ्यारो भूगोलमा खसेको सवारीसाधनबाट घाइतेहरूलाई निकाल्नुका साथै डेढ वर्षीय बालक सुदीप यादवलाई सकुशल उद्धार गरेको हो ।
दुर्घटनामा ठूलो मानवीय क्षति भए पनि बालकको सकुशल उद्धार भएको छ । घटनास्थलको कठिन भौगोलिक अवस्थाका बीच सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त प्रयासमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको थियो ।