बुधवार, भाद्र ३१ गते २०८३

Wednesday 16th September 2026

कालिकोटदेखि युरोपसम्म : सुबासको फुटबल यात्रा

मंगलवार , भाद्र ३०, २०८३

काठमाडौं,३० भदो – नेपालमा घरेलु फुटबल गतिविधि सुस्ताइरहेका बेला युवा नेपाली फरवार्ड सुबास बम ठकुरीले भने युरोपेली फुटबल यात्राको नयाँ ढोका खोलेका छन् । नेपाली राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका १८ वर्षीय सुबास अजरबैजानको शीर्ष डिभिजन क्लब टुरान टुभोजमा अनुबन्ध भएका छन् ।

टुरान टुभोज अजरबैजान प्रिमियर लिग खेल्ने क्लब हो । सुबासले गत साता क्लबसँग औपचारिक सम्झौता गरेका हुन् । घरेलु फुटबलमा नेपाल पुलिस क्लब तथा श्री भगवती क्लब टोखाबाट खेलिसकेका उनले यसअघि फिलिपिन्सको क्लबमा समेत आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) माथि फिफाको निलम्बनपछि नेपालमा राष्ट्रिय प्रतियोगिता, शहीद स्मारक ए डिभिजन लिगलगायतका गतिविधि प्रभावित बनेका छन् । यस्तो कठिन परिस्थितिबीच केही नेपाली खेलाडी विदेशी लिगतर्फ लागिरहेका छन् भने धेरै खेलाडी अवसरको खोजीमा छन् । यही अवस्थाबीच सुबासले अजरबैजानको क्लबमार्फत युरोपेली फुटबलमा आफ्नो स्थान बनाउने प्रयास थालेका हुन् ।

सुबास अगस्टको पहिलो साता क्लबको ट्रायलका लागि अजरबैजान पुगेका थिए । करिब तीन सातासम्म प्रशिक्षण र मैत्रीपूर्ण खेलमा सहभागी भएपछि क्लबले उनलाई अनुबन्ध गर्ने निर्णय गरेको हो । “अगस्ट ३ मा यहाँ आएको थिएँ । तीन हप्ताजस्तो ट्रायल भयो । त्यसपछि सम्झौताबारे छलफल भयो र आवश्यक कागजात पूरा गरेर सम्झौता भयो,” उनले बताए ।

उनले भदौ २३ गते सामाजिक सञ्जालमार्फत क्लब सम्झौताको तस्वीर सार्वजनिक गर्दै नयाँ यात्राको सुरुवात भएको उल्लेख गरेका थिए । अजरबैजानको शीर्ष क्लबमा आबद्ध हुन पाउँदा आफू उत्साहित रहेको बताउँदै उनले यहाँको फुटबलबाट धेरै कुरा सिक्ने अवसर पाइरहेको प्रतिक्रिया दिएका छन् ।

हाल सुबास क्लबको युथ टिमसँग आबद्ध छन् । उनको मुख्य लक्ष्य भने सिनियर टोलीमा स्थान बनाउनु हो । “फस्र्ट टिमबाट खेल्ने लक्ष्य छ र त्यसका लागि आफूलाई तयार गरिरहेको छु,” उनले बताएका छन् ।

विदेशी खेलाडीको कोटामा क्लबमा आबद्ध भएका सुबाससँगै कोलम्बियाका एक खेलाडी पनि सोही कोटामा छन् । विदेशी खेलाडीका रूपमा अवसर पाउनु चुनौतीपूर्ण भए पनि आफूलाई प्रमाणित गर्ने अवसरका रूपमा लिएको उनको भनाइ छ ।

सिनियर टोलीमा पुग्नका लागि निरन्तर मेहनत आवश्यक रहेको बताउँदै उनले प्रशिक्षकले खेलाडीको प्रदर्शन मूल्यांकन गरिरहेको जानकारी दिए । “राम्रो प्रदर्शन गर्न सके प्रशिक्षकले सिनियर टोलीमा बोलाउन सक्छन्,” उनले भने ।

कालिकोटमा जन्मिएका सुबास सानै उमेरमा अध्ययनका लागि काठमाडौं आएका थिए । दाजुहरूले फुटबल खेलेको देखेर प्रेरित हुँदै उनले खेल यात्रा सुरु गरेका हुन् ।

उनी डेढ वर्षअघि नेपाली राष्ट्रिय टोलीमा छनोट हुँदा टोलीका कान्छा खेलाडीमध्ये एक थिए । सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेल तथा एसियन कप छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलका लागि पहिलो पटक राष्ट्रिय टोलीमा परेका उनले २०२५ मार्च २१ मा सिंगापुरविरुद्ध खेल्दै सिनियर टोलीबाट डेब्यु गरेका थिए । त्यसयता उनले राष्ट्रिय टोलीबाट पाँच खेल खेलिसकेका छन् ।

उमेर समूहमा पनि सुबासले उल्लेखनीय भूमिका निर्वाह गरेका छन् । नेपाल पुलिस क्लबबाट यू–१६ र यू–१८ युथ लिग खेलेका उनले यू–१८ युथ लिगमा टोलीको कप्तानी गर्दै उपाधि जिताएका थिए । उनले नेपाल यू–१६ र यू–१७ राष्ट्रिय टोलीको कप्तानीसमेत गरिसकेका छन् ।

राइट फुटेड सुबास विंगर फरवार्ड र मिडफिल्ड दुवै भूमिकामा खेल्न सक्ने क्षमता राख्छन् । उमेर समूह हुँदै राष्ट्रिय टोलीसम्म पुगेका उनी अब युरोपेली फुटबलको प्रतिस्पर्धात्मक वातावरणमा आफूलाई स्थापित गर्ने लक्ष्यसहित अघि बढिरहेका छन् ।

अजरबैजानको क्लबमा उनको अनुबन्ध नेपाली फुटबलका लागि पनि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा अवसर विस्तार गर्ने सम्भावना समेत बढाएको छ ।

प्रतिक्रिया