बुधवार, भाद्र ३१ गते २०८३

Wednesday 16th September 2026

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

मंगलवार , भाद्र ३०, २०८३

काठमाडौं,३० भदौ –काठमाडौंको बूढानीलकण्ठस्थित गरुड क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा  सोमवार राति करिब २ बजे क्यासिनोमा अनुगमन तथा जाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो ।

बूढानीलकण्ठ नगरपालिका–१ तौलुडस्थित उक्त क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई क्यासिनो क्वाइनमार्फत नगद सटही गरी हारजित हुने गरी जुवा तास खेलाइरहेको अवस्थामा प्रहरीले मोबाइल ९ थान, विभिन्न मूल्यका क्यासिनो क्वाइन तथा नगद रकम बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार बरामद सामग्रीमा ५० हजार रुपैयाँ अंकित क्वाइन ८ थान, १० हजार रुपैयाँ अंकित क्वाइन १९ थान, एक हजार रुपैयाँ अंकित क्वाइन ८८ थान, १०० रुपैयाँ अंकित क्वाइन ५ थान र नेपाली नगद १० लाख ८५ हजार ६ सय रुपैयाँ रहेको छ ।

पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका–६ का ३४ वर्षीय बिकी लामा, सोलुखुम्बु माकालुङ गाउँपालिका–३ का ३९ वर्षीय नुवाङ शेर्पा, सोलुदूधकुण्ड नगरपालिका–९ का ३९ वर्षीय पासाङ शेर्पा, सिन्धुली गोलन्जोर गाउँपालिका–५ की ३२ वर्षीया ज्योति मगर, दोलखा बैतेश्वर गाउँपालिका–८ का ३५ वर्षीय नारायण खत्रीलगायत छन् ।

त्यस्तै काठमाडौंका ४४ वर्षीय दिल लामा, काभ्रेको रोशी गाउँपालिका–१ का ४४ वर्षीय अशोक लामा, नुवाकोट दुप्चेश्वर गाउँपालिका–३ का ३२ वर्षीय सञ्जय तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका–४ का ४० वर्षीय आशिष खड्का, ललितपुरका ४९ वर्षीय सविनमान श्रेष्ठ र धनकुटा जोरपाटी गाउँपालिका–४ का ३० वर्षीय सुदीप अधिकारी पनि पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूमाथि जुवा सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुसन्धानका लागि दुई दिनको म्याद थप अनुमति दिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया