सिन्धुली,३०भदौ – सिन्धुली बहुमुखी क्याम्पसमा गत भदौ २८ गते सञ्चालन भएको बीएड दोस्रो वर्षको आंशिक परीक्षामा प्रश्नपत्र बाहिरिएको र परीक्षा हलभित्र चिट पुगेको विषयले परीक्षा व्यवस्थापन र अनुगमन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ । घटनासम्बन्धी सार्वजनिक विवरणअनुसार परीक्षा सुरु भएको केही समयमै २० नम्बरको वस्तुगत प्रश्नका उत्तर बाहिर पुगेको र त्यसपछि स्ववियु सचिव विष्णु पाण्डेले एक परीक्षार्थीलाई उत्तर लेखिएको चिट उपलब्ध गराएको आरोप लागेको छ ।
परीक्षार्थी संख्या कम भएका कारण उक्त दिन क्याम्पसकै एउटा हलमा परीक्षा सञ्चालन गरिएको थियो । बिहान ७ बजे सुरु भएको परीक्षामा सहायक क्याम्पस प्रमुख उमेश कोइराला र शिक्षक पोषक पौडेल निरीक्षकका रूपमा खटिएका थिए । प्रश्नपत्र वितरण भएको करिब १० मिनेटपछि निरीक्षक बाहिर रहेको समयमा स्ववियु सचिव पाण्डे परीक्षा हलभित्र प्रवेश गरी बायाँतर्फको दोस्रो बेन्चमा बसेका विद्यार्थीलाई चिट दिएको सहभागी विद्यार्थीहरूले बताएका छन् ।
उनी केही समय परीक्षा हलभित्र बसेको र त्यसपछि बाहिरिएको बताइएको छ । सहायक क्याम्पस प्रमुख कोइरालाले परीक्षा हलमा शंकास्पद गतिविधि भएको आशंकामा जाँच गर्दा एउटा चिट फेला परेको र उक्त चिट नियन्त्रणमा लिएर बाहिर फालेको बताएका छन् । अन्य विद्यार्थीका अनुसार चिट पाएका विद्यार्थीले केही प्रश्नमा मात्र उत्तर मिलाउन पाएका थिए ।
परीक्षा निरीक्षक पोषक पौडेलले भने पाण्डे परीक्षा हलको ढोकासम्म आएको र क्याम्पस प्रमुखको जानकारीमा एकपटक भित्र प्रवेश गरेको बताएका छन् । उनका अनुसार आफू बाहिर निस्कने क्रममा पाण्डे पटकपटक भित्र जान खोजेका थिए । उनले रोक्न खोज्दा पनि केही समय हल बाहिर गएको र त्यसपछि घटना भएको बताएका छन् ।
घटनाको समयमा हलभित्र र प्रवेशद्वारतर्फ स्पष्ट देखिने गरी सिसिटिभी व्यवस्था नभएको बुझिएको छ । त्यसैले प्रश्नपत्र कसरी बाहिरियो, चिट कसरी परीक्षा हलसम्म पुग्यो र संलग्न व्यक्तिहरू को–को हुन् भन्ने विषय अनुसन्धानपछि मात्र स्पष्ट हुने देखिन्छ । विद्यार्थी तथा सरोकारवालाहरूले मोबाइल तथा सञ्चार विवरणको समेत अनुसन्धान गर्नुपर्ने बताएका छन् ।
समाचार सार्वजनिक भएपछि विभिन्न राजनीतिक दलनिकट विद्यार्थी संगठनका प्रतिनिधिहरूले सामाजिक सञ्जालमार्फत आरोपको खण्डन गरेका छन् । एमालेनिकट विद्यार्थी कार्यकर्ताहरू बढी सक्रिय देखिएका छन् भने काँग्रेस र माओवादी केन्द्रनिकट विद्यार्थी समूहले पनि घटनालाई तथ्यहीन आरोप भन्दै प्रतिक्रिया दिएका छन् । तर घटनाको निष्पक्ष छानबिनको मागमा भने उनीहरूको औपचारिक धारणा सार्वजनिक भएको छैन ।
यसअघि साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सत्रको परीक्षामा पनि प्रश्नपत्र बाहिरिएको विषयमा विद्यार्थी संगठनहरूले विरोध गरेका थिए । अनुसन्धानका क्रममा परीक्षार्थीले मोबाइलबाट प्रश्नपत्रको फोटो खिचेर बाहिर पठाएको खुलेको थियो ।
बहुमुखी क्याम्पसका केही पूर्वविद्यार्थीहरूले परीक्षा हलमा चिट लैजाने र सहयोग गर्ने प्रवृत्ति पुरानै समस्या भएको दाबी गरेका छन् । उनीहरूले केही विद्यार्थीलाई लक्षित गरी सहयोग गर्ने गरिएको आरोपसमेत लगाएका छन् ।
घटनापछि क्याम्पस प्रशासन र सम्बन्धित पक्षबीच छलफल भएको र स्ववियु प्रतिनिधिलाई परीक्षा हल प्रवेशमा कडाइ गर्ने निर्णय गरिएको बताइएको छ । त्रिभुवन विश्वविद्यालयको परीक्षा सञ्चालनसम्बन्धी व्यवस्थाअनुसार परीक्षा हलमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक तथा तोकिएका कर्मचारीबाहेक अन्य व्यक्तिको प्रवेश निषेध गरिएको छ । अब उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्नुपर्ने माग उठेको छ । स्रोत : सिन्धुली मंसिर चार