ओखलढुंगा,३१ भदौ – ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–९ राघवपुरस्थित भित्री कच्ची सडकखण्डमा ढुंगा बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयओखलढुंगाले जनाएको छ ।
प्रहरीका अनुसार मानेभञ्ज्याङ–राघवपुर सडकखण्डमा ढुंगा लोड गरी मानेभञ्ज्याङतर्फ जाँदै गरेको लु ४ त १६७२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
दुर्घटनाको सूचना प्राप्त भएपछि प्रहरी चौकी मानेभञ्ज्याङबाट प्रहरी नायब निरीक्षक खुदु मुर्मु तथा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरीक्षक शेखरकुमार साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले उद्धार तथा प्रारम्भिक अनुसन्धानको काम अघि बढाएको जनाएको छ ।
दुर्घटनामा ट्याक्टरमा सवार मानेभञ्ज्याङ गाउँपालिका–८ का २० वर्षीय नवीन पुलामी मगर र सोही स्थानका ६२ वर्षीय छबिलाल तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
उक्त दुर्घटनामा सोही गाउँपालिका–८ का २९ वर्षीय तुलसी थापा मगर, २८ वर्षीय भीमबहादुर सार्की र ट्याक्टर चालक २५ वर्षीय मिलन राई भने सकुशल रहेका छन् ।
दुर्घटनाको प्रभावबाट ट्याक्टर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जानकारी दिएको छ । घटनापछि ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको कारण, अवस्था र सम्भावित लापरबाहीका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।