इटहरी ,२८ भदौ सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्राम चौकमा भएको मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार मध्यरातमा निर्माणाधीन पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा भएको दुर्घटनामा इनरुवा नगरपालिका–३ का दुई जना युवकले ज्यान गुमाएका हुन् ।
प्रहरीका अनुसार प्रदेश १–००–०४३ प ५५१४ नम्बरको मोटरसाइकल राति करिब २ बजे सडकमा राखिएको डिभाइडरमा अनियन्त्रित भई ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार इनरुवा–३ निवासी ३५ वर्षीय सागर रेग्मी र २९ वर्षीय पारस थापा गम्भीर घाइते भएका थिए ।
दुर्घटनापछि दुवै घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा बिहान करिब ५ बजे दुवै जनाको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
मृतक सागर रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत थिए । उनी प्रमुख जिल्ला अधिकारीका स्वकीयका रूपमा जिम्मेवारीमा रहेको बताइएको छ । अर्का मृतक पारस थापा पनि सोही कार्यालयमा करार सेवामा कार्यरत कर्मचारी थिए । उनले केही समयअघि कार्यालयबाट राजीनामा दिएको खुलेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार रातिको समयमा मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको देखिएको छ । निर्माणाधीन सडक संरचनाअन्तर्गत रहेको डिभाइडर तथा कल्भर्टमा ठोक्किएपछि दुर्घटना भएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।