बुधवार, भाद्र ३१ गते २०८३

Wednesday 16th September 2026

मोटरसाइकलको ठक्करबाट दुधौलीमा ५ वर्षीय बालक घाइते

मंगलवार , भाद्र ३०, २०८३

सिन्धुली,३० भदौ – सिन्धुलीको दुधौली नगरपालिका–१० कट्टिलखनपुरस्थित खोरभज्याङ–दुधौली भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् । सोमवार साँझ ५ः४० बजे भएको दुर्घटनामा दुधौली नगरपालिका–९ का शंकरराज कार्कीका ५ वर्षीय छोरा सेनिस कार्की घाइते भएका हुन् ।

प्रहरीका अनुसार खोरभज्याङबाट दुधौलीतर्फ आउँदै गरेको बा ८३ प ९३६७ नम्बरको मोटरसाइकलले अरुण बेकरी पसल अगाडि पैदल हिँडिरहेका बालकलाई ठक्कर दिएको हो । मोटरसाइकल दुधौली नगरपालिका–१० कर्था निवासी ३१ वर्षीय अर्जुन अधिकारीले चलाएका थिए ।

दुर्घटनापछि बालकको टाउको, हात, खुट्टा तथा शरीरका विभिन्न भागमा भित्री चोट लागेको जनाइएको छ । घाइतेलाई तत्काल उपचारका लागि हेन्स पोली क्लिनिक दुधौली लगिएकोमा सामान्य उपचारपछि थप उपचारका लागि साँझ ७ः४५ बजे शुभ स्वस्तिक अस्पताल बर्दिबासतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

घाइते बालकको उपचारमा मोटरसाइकल चालक अधिकारी र उनका बुबा संलग्न रहेको बताइएको छ । हाल बालकको स्वास्थ्य अवस्था मध्यम रहेको छ ।

घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी दुधौली सिन्धुलीबाट प्रहरी र ट्राफिकसहित दुई जनाको टोली घटनास्थल पुगेको थियो । प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालकसँग आवश्यक कागजपत्र नभएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया