काठमाडौं,३१ भदौ – सामाजिक सञ्जाल क्षेत्रको विश्वप्रसिद्ध कम्पनी मेटाले क्यामेरा नभएको नयाँ पुस्ताको स्मार्ट चस्मा बजारमा ल्याउने तयारी गरेको छ । स्मार्ट चस्मामार्फत प्रयोगकर्ताको अनुमति नलिई तस्बिर तथा भिडियो खिच्न सकिने भन्दै पछिल्लो समय बढ्दै गएको गोपनीयतासम्बन्धी चिन्तालाई सम्बोधन गर्ने उद्देश्यसहित मेटाले क्यामेराविहीन मोडल सार्वजनिक गर्न लागेको हो ।
प्रविधि सञ्चार माध्यम ‘द इन्फर्मेसन’ का अनुसार मेटाले आफ्नो नयाँ स्मार्ट चस्माको नाम ‘लुना’ राखेको छ । कम्पनीले आगामी सेप्टेम्बर २३ र २४ मा आयोजना हुने वार्षिक डेभलपर सम्मेलन ‘कनेक्ट’ कार्यक्रममा यो चस्मा सार्वजनिक गर्न सक्ने बताइएको छ । यसको बिक्री भने अक्टोबरदेखि सुरु गर्ने मेटाको योजना रहेको स्रोतलाई उद्धृत गर्दै विभिन्न प्रविधि सञ्चार माध्यमले जनाएका छन् ।
नयाँ स्मार्ट चस्मामा क्यामेरा समावेश नगरिए पनि मेटाको कृत्रिम बुद्धिमत्ता (एआई) सेवा प्रयोग गर्न सकिनेछ । चस्मामा छवटा माइक्रोफोन, आवाज सुन्नका लागि स्पिकर तथा एआई सेवा सक्रिय गर्न साइड बटन राखिने बताइएको छ । यसमार्फत प्रयोगकर्ताले चस्मा लगाएकै अवस्थामा मेटाको एआई च्याटबटसँग कुराकानी गर्न सक्नेछन् ।
मेटाको नयाँ एआई एजेन्ट ‘म्युज’ पनि यो चस्मामा उपलब्ध हुन सक्ने सम्भावना रहेको छ । कम्पनीले डिजाइनलाई हाल बजारमा रहेको ‘रे–ब्यान मेटा’ स्मार्ट चस्माभन्दा पातलो बनाउने तयारी गरेको बताइएको छ । नयाँ मोडल सामान्य चस्माजस्तै देखिने गरी तयार गरिने र ‘क्लबमास्टर’ तथा ‘बब्र्याङ्क’ गरी दुई डिजाइनमा उपलब्ध हुने दाबी गरिएको छ ।
यसअघि मेटाले सार्वजनिक गरेको स्मार्ट चस्मामा क्यामेरा, माइक्रोफोन र स्पिकर जडान गरिएको थियो । चस्माको क्यामेरा सञ्चालनमा रहेको जानकारी दिन एलईडी बत्तीको व्यवस्था गरिएको भए पनि केही प्रयोगकर्ताले उक्त बत्ती छोपेर वा हटाएर गोप्य रूपमा भिडियो खिच्ने प्रयास गरेका घटना सार्वजनिक भएका थिए ।
क्यामेरायुक्त स्मार्ट चस्माको प्रयोगबाट सार्वजनिक स्थानमा रहेका व्यक्तिको अनुमति नलिई भिडियो खिचिएको र त्यसलाई सामाजिक सञ्जालमा लोकप्रियता तथा भ्युज बढाउन दुरुपयोग गरिएको आरोप लाग्दै आएको छ । यही कारण विद्यालय, सिनेमा हललगायत केही सार्वजनिक स्थानमा क्यामेरासहितका स्मार्ट चस्माको प्रयोगमा प्रतिबन्ध वा कडाइ गर्न थालिएको छ ।
यही चुनौतीलाई ध्यानमा राख्दै मेटाले क्यामेराविहीन स्मार्ट चस्मामार्फत गोपनीयतासम्बन्धी विवाद कम गर्दै एआईमा आधारित पहिरनयोग्य प्रविधिको बजार विस्तार गर्ने रणनीति अघि सारेको देखिन्छ । नयाँ चस्माले मानिसको दैनिक जीवनमा एआई प्रयोग गर्ने तरिकालाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।
यद्यपि मेटाले हालसम्म ‘लुना’ चस्माको नाम, मूल्य, सार्वजनिक गर्ने आधिकारिक मिति तथा विस्तृत प्राविधिक विवरण भने पुष्टि गरेको छैन। कम्पनीको औपचारिक घोषणापछि मात्र यसको वास्तविक क्षमता र बजार रणनीतिबारे स्पष्ट जानकारी प्राप्त हुनेछ ।