सिन्धुली, ३० भदौ — घरबाट बेपत्ता भएका सिन्धुलीका एक वृद्ध पुरुषको शव मरिण खोलाको किनारमा फेला परेको छ । मरिण गाउँपालिका–५ बडिमुहानस्थित मरिण खोला किनारमा कमलामाई नगरपालिका–१ काफ्लेटारका ७५ वर्षीय टीका प्रसाद गौतम मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार गौतम भदौ २८ गते दिउँसो करिब ४ बजेर १० मिनेटको समयमा घरबाट कसैलाई जानकारी नगराई निस्किएका थिए । उनी मरिण खोला क्षेत्रतर्फ गएको स्थानीयवासीबाट जानकारी प्राप्त भएपछि उनको खोजी कार्य सुरु गरिएको थियो । सोही दिन साँझ ७ बजेर ४६ मिनेटमा स्थानीयले प्रहरी चौकी डाँडीगुरासेलाई घटनाबारे जानकारी गराएका थिए ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी डाँडीगुरासेबाट प्रहरी टोली, आफन्त तथा स्थानीय बासिन्दासहितको समूह खोजीमा परिचालन गरिएको थियो । खोजीका क्रममा मरिण खोलाको बगरमा गौतमले प्रयोग गर्ने गरेको चप्पल र लाठी भेटिए पनि तत्काल उनको अवस्थाबारे जानकारी हुन सकेको थिएन ।
बेपत्ता वृद्धको खोजीलाई निरन्तरता दिँदै भदौ २९ गते बिहान करिब ६ बजेर ४५ मिनेटमा प्रहरी चौकी डाँडीगुरासेको टोली र स्थानीय बासिन्दाले पुनः खोजी सुरु गरेका थिए । सो क्रममा बेपत्ता भएको सम्भावित स्थानबाट करिब ५ किलोमिटर पश्चिमतर्फ मरिण गाउँपालिका–५ बडिमुहानस्थित मरिण खोला किनारमा गौतम घोप्टो अवस्थामा मृत फेला परेका हुन् ।
प्रहरीले घटनास्थललाई सुरक्षित राखी कानुनी प्रक्रिया अघि बढाएको छ । घटनाको मुचुल्का तयार गर्न तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी टोली परिचालन गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।