बुधवार, भाद्र ३१ गते २०८३

Wednesday 16th September 2026

ट्रक र हायस ठोक्किँदा चालकसहित १७ जना घाइते

बुधवार , भाद्र ३१, २०८३


उदयपुर,३१ भदौ – उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित सडकखण्डमा ट्रक र यात्रुबाहक हायस एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । दुर्घटनामा घाइतेमध्ये आठ जनालाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको छ भने अन्य घाइतेको उपचार जिल्ला अस्पताल उदयपुरमा भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले  जनाएको छ ।

बुधबार बिहान करिब १० बजे कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना.७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा.४ ख ५६३५ नम्बरको यात्रुबाहक माइक्रो बस (हायस) अधेरी क्षेत्रमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनाको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक विपेश कुमार देवको नेतृत्वमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले तत्काल उद्धार गरी घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याएको जनाएको छ ।

दुर्घटनामा हायसका चालक राम बहादुर बि.क., सहचालक देवराज बि.क. सहित यात्रुहरू घाइते भएका छन् । घाइते हुनेमा काठमाडौं चन्द्रागिरी नगरपालिका–१४ की ५६ वर्षीया इन्दिरा श्रेष्ठ, सोही स्थानकी ४८ वर्षीया रुक माया श्रेष्ठ र ५३ वर्षीया पविना श्रेष्ठ रहेका छन् ।

त्यस्तै मोरङ सुन्दरहरैँचा नगरपालिका–७ की २७ वर्षीया पवित्रा भट्टराई, मोरङ कानेपोखरी गाउँपालिका–६ रमाइलोका २४ वर्षीय लबिन चौलागाई, ४० वर्षीय देवराज बि.क. र ४४ वर्षीय हायस चालक राम बहादुर बि.क. घाइते भएका छन् ।

घाइते हुने अन्यमा बाँकेको नेपालगञ्ज नगरपालिका–३ की २१ वर्षीया लक्ष्मी गिरी, उदयपुर त्रियुगा नगरपालिका–३ मिलनचोककी ४२ वर्षीया रस्मिला दाहाल, मोरङ सुन्दरहरैँचा–६ की ७९ वर्षीया जमुना राई, सोही स्थानका ४१ वर्षीय एदु चन्द्र राई, इलाम जोगमाई नगरपालिका–१ का २५ वर्षीय सगुन गुरुङ, उदयपुर बेलका नगरपालिका–६ का ३१ वर्षीय डम्बर बहादुर बि.क., सिन्धुली कमलामाई नगरपालिका–१ की ४० वर्षीया सानु थापा, उदयपुर बेलका–६ का २० वर्षीय सुदिप राई तथा काठमाडौं बुढानीलकण्ठ नगरपालिका–५ की ४३ वर्षीया शान्ति न्यारिका रहेका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया