काठमाडौँ,३१ भदौ – पछिल्लो समय सडकमा गुडिरहेको विद्युतीय सवारीमा आगलागीका घटना सार्वजनिक भएपछि यसको सुरक्षा पक्षबारे बहस सुरु भएको छ । चितवनको भरतपुर महानगरपालिका–९ वसन्तचोकमा भदौ २६ गते बिहान गुडिरहेको विद्युतीय कारमा आगलागी हुँदा कारधनी अमर पराजुलीको मृत्यु भएको घटनाले विद्युतीय सवारीको सुरक्षासम्बन्धी प्रश्नलाई थप गम्भीर बनाएको छ ।
यसअघि पनि विद्युतीय सवारीमा आगलागीका घटना भएका थिए । चितवन र साउन ५ गते कीर्तिपुरमा भएका दुई वटा कार आगलागी घटनामा दुई जनाको ज्यान गएको थियो । यद्यपि, ती घटनाको वास्तविक कारणबारे आधिकारिक अनुसन्धानबाट तथ्य सार्वजनिक भइसकेको छैन । तर, विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्री प्रणाली, मोटर, विद्युतीय जडान र सुरक्षा संयन्त्रबारे उपभोक्ताको चासो बढेको छ ।
प्राविधिकका अनुसार विद्युतीय सवारीमा आगलागीको मुख्य जोखिम ब्याट्री, मोटर र विद्युतीय प्रणालीसँग जोडिएको हुन्छ । साझा यातायातका प्राविधिक प्रमुख जनक रिसालका अनुसार विद्युतीय सवारीको ब्याट्रीमा ठूलो मात्रामा ऊर्जा सञ्चित हुने भएकाले तापक्रम नियन्त्रण अत्यन्त आवश्यक हुन्छ । उनका अनुसार अधिकांश साना विद्युतीय सवारीमा एसी मोटर प्रयोग हुन्छ । ब्याट्री, मोटर र प्लग अत्यधिक तात्न नदिन लिक्विड कुलिङ प्रणाली राखिएको हुन्छ । उक्त प्रणालीले काम गर्न नसकेमा तापक्रम बढेर आगलागीको अवस्था सिर्जना हुन सक्ने उनको भनाइ छ ।
विद्युतीय सवारीमा आपत्कालीन सुरक्षा प्रणाली राखिएको भए पनि त्यसको सही प्रयोगबारे चालकलाई पर्याप्त जानकारी नहुँदा जोखिम बढ्न सक्ने प्राविधिकहरूको भनाइ छ । रिसालले गाडी चल्ने क्रममा सुरक्षाका लागि ढोका सेन्टर लक हुने र आपत्कालीन अवस्थामा खोल्न मिल्ने व्यवस्था हुने बताए । तर, दुर्घटनाको समयमा चालक आत्तिन सक्ने, आपत्कालीन प्रणालीबारे जानकारी नहुन सक्ने वा प्रणालीले काम नगर्न सक्ने अवस्थाले समस्या थप जटिल बन्न सक्ने उनको भनाइ छ ।
विद्युतीय प्रणालीमा हुने सर्ट सर्किट, पुरानो वा क्षतिग्रस्त वायरिङ, मुसाले तार काट्नु तथा क्षमताभन्दा बढी विद्युतीय उपकरण जडान गर्नु पनि आगलागीका सम्भावित कारण हुन् । विशेषगरी अतिरिक्त लाइट, म्युजिक सिस्टमलगायत उपकरण जडान गर्दा तारमा अत्यधिक भार पर्न गई तापक्रम बढ्न सक्ने प्राविधिकहरू बताउँछन् ।
परम्परागत इन्धनबाट चल्ने सवारीमा पनि पेट्रोल, डिजेल वा मोबिल चुहावट, इन्जिन अत्यधिक तात्नु, कुलेन्टको कमी वा रेडिएटरमा समस्या आउँदा आगलागी हुन सक्छ । त्यस्तै, मापदण्डविपरीत ग्यास किट जडान गर्दा ग्यास चुहावट भएर दुर्घटना हुने सम्भावना रहन्छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले विद्युतीय सवारीमा हुने यस्ता घटनाबारे सरकार, कम्पनी र सम्बन्धित निकायले स्पष्ट जानकारी दिनुपर्ने बताए । उनले आगलागीको अवस्थामा यात्रु किन बाहिर निस्कन नसक्ने, ढोका किन नखुल्ने जस्ता विषयमा अध्ययन गरी उपभोक्तालाई आवश्यक तालिम र जानकारी उपलब्ध गराउनुपर्ने धारणा राखे ।
विद्युतीय सवारीको प्रयोगलाई राज्यले प्रोत्साहन गरिरहेका बेला सुरक्षा मापदण्ड, नियमित परीक्षण र उपभोक्ता सचेतना अझ महत्वपूर्ण बनेको छ । प्राविधिक रिसालले सवारी खरिद गर्दा सामान्य सञ्चालन मात्र नभई आपत्कालीन अवस्थामा अपनाउने प्रक्रिया, सुरक्षा प्रणाली र आवश्यक सावधानीबारे जानकारी लिन आग्रह गर्नुभएको छ । नियमित सर्भिसिङ, ब्याट्री तथा विद्युतीय प्रणालीको परीक्षण र आपत्कालीन व्यवस्थाको अभ्यासले सम्भावित जोखिम न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।