बुधवार, भाद्र ३१ गते २०८३

Wednesday 16th September 2026

दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

बुधवार , भाद्र ३१, २०८३

 

सर्लाही,३१ भदौ – सर्लाहीको कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलंगवा–नवलपुर सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार मंगलबार साँझ मधेस प्रदेश ०३–०३३ प ७८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भारतीय नम्बर प्लेटको बिआर ३० एपी १२२४ नम्बरको मोटरसाइकल ठोक्किएको हो । दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृत्यु हुनेमा ७८२४ नम्बरको मोटरसाइकल चालक गोडैता नगरपालिका–६ निवासी ३० वर्षीय सुमित यादव र भारतीय नम्बरको मोटरसाइकल चालक कबिलासी नगरपालिका–८ निवासी २६ वर्षीय पप्पु पासवान रहेका छन् । दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

दुर्घटनामा भारतीय नम्बरको मोटरसाइकलमा सवार कबिलासी नगरपालिका–८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलङ्गवा नगरपालिका–६ का १८ वर्षीय बब्लुकुमार पासवान घाइते भएका छन् । उनीहरूको अनुहार, टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनालाई प्रादेशिक अस्पताल मलङ्गवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ । चिकित्सकका अनुसार उनीहरूको अवस्था गम्भीर रहेको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ । दुर्घटनामा संलग्न दुवै मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया