सिन्धुली,३० भदौ – निरन्तरको वर्षापछि सिन्धुली जिल्लाका विभिन्न नदी तथा जलाधार क्षेत्रमा बाढी र डुबानको जोखिम बढेपछि स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । कमला नदीको रानीबासस्थित जलमापन केन्द्रमा नदीको जलसतहले सतर्कता तह पार गरेपछि विशेषगरी तल्लो तटीय क्षेत्र तथा नियमित रूपमा डुबानको जोखिममा पर्ने बस्तीका नागरिकलाई बुधवार बिहानसम्म सावधानी अपनाउन अनुरोध गरिएको हो ।
जिल्लामा परेको भीषण वर्षाका कारण कमला, सुनकोशी, मरिण र चदाहा नदीका जलाधार क्षेत्रमा पानीको सतह निरन्तर वृद्धि भइरहेको छ । जलसतह बढ्दै जाँदा नदी आसपासका बस्ती, कृषि क्षेत्र तथा पूर्वाधारहरूमा बाढी र कटानको जोखिम थप बढ्ने देखिएको छ ।
मंगलबार दिउसो छोटो अवधिमा भएको अत्यधिक वर्षाले सिन्धुलीको जनजीवन प्रभावित भएको छ । करिब एक घण्टाको भारी वर्षापछि जिल्लाका विभिन्न स्थानमा पानी जम्ने, नदी कटान हुने, सडक भत्किने तथा सडक क्षेत्र भासिने जस्ता समस्या देखिएका छन् । स्थानीय बासिन्दाका अनुसार यही प्रकृतिको वर्षा थप केही समय निरन्तर भएमा ठूलो क्षति हुन सक्ने अवस्था सिर्जना हुनसक्ने देखिएको छ ।
सिन्धुली भएर सञ्चालन हुने प्रमुख यातायात मार्गहरू समेत प्राकृतिक जोखिमको चपेटामा पर्दै आएका छन् । जिल्लाबाट जाने वीपी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा वर्षाका कारण जोखिम बढ्ने गरेको छ । त्यसैगरी माडीफाँट, कमलाखोज, मरिण र चदाहा क्षेत्रजस्ता उर्वर कृषि भूमि तथा घना बस्ती भएका क्षेत्रहरू पनि बाढी, डुबान र नदी कटानको उच्च जोखिममा रहेका छन् ।
विज्ञहरूले पछिल्लो समय जलवायु परिवर्तनका कारण मौसम प्रणालीमा असामान्य परिवर्तन देखिन थालेको बताएका छन् । छोटो समयमै अत्यधिक वर्षा हुने, वर्षाको स्वरूप अनिश्चित बन्ने तथा स्थानीय स्तरमा अचानक विपद् निम्तिने घटना बढ्दै गएको उनीहरूको भनाइ छ ।
नदी तथा खोलाको प्राकृतिक बहाव क्षेत्रमा अव्यवस्थित रूपमा बस्ती विस्तार हुनु, सार्वजनिक जमिन अतिक्रमण हुनु र पूर्वाधार निर्माण गर्दा प्राकृतिक अवस्थालाई बेवास्ता गरिनुले विपद्को जोखिम थप गम्भीर बनेको छ । नदीको बहाव क्षेत्र साँघुरिँदा बाढीको पानी सहज रूपमा निकास हुन नसकी बस्ती तथा सडक क्षेत्रमा प्रवेश गर्ने अवस्था बढ्दै गएको छ ।
स्थानीय प्रशासन, सम्बन्धित निकाय र नागरिक तहबाट समयमै आवश्यक तयारी तथा सावधानी नअपनाए सिन्धुलीमा ठूलो प्राकृतिक विपत्ति निम्तिन सक्ने जोखिम देखिएको छ । विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन तथा जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन प्रशासनले आग्रह गरेको छ ।
वर्षाको अवस्था अझै परिवर्तन हुनसक्ने भएकाले नदी आसपासका क्षेत्रका बासिन्दाले सतर्कता अपनाउन, अनावश्यक रूपमा जोखिम क्षेत्रमा नजान र सम्भावित विपद्का संकेत देखिए तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।