बुधवार, भाद्र ३१ गते २०८३

Wednesday 16th September 2026

पारिवारिक भेटघाटपछि नेकपा सिन्धुलीमा तरंग, आरोप–प्रत्यारोप चर्कियो

शनिवार , भाद्र २७, २०८३

सिन्धुली,२७ भदौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीमा पछिल्लो समय एक नेताको पारिवारिक भेटघाटलाई लिएर आन्तरिक बहस र विवाद सतहमा आएको छ । नेकपा सिन्धुलीका पूर्व संयोजक पानिराज बम्जन र घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष तथा नेकपा घ्याङलेखका इन्चार्ज शंकरमान घलानबीच केही दिन अघि काठमाडौंमा भएको भेटवार्तापछि जिल्लास्थित पार्टी पंक्तिमा विभिन्न किसिमका प्रतिक्रिया देखिन थालेका छन् ।

उक्त भेटलाई लिएर नेकपा सिन्धुलीका नेता तथा कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्न थालेका छन् । केही कार्यकर्ताले भेटघाटलाई लिएर आलोचनात्मक टिप्पणी गरेका छन् भने केहीले राजनीतिक अर्थ लगाउँदै विभिन्न प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा आएका प्रतिक्रियामा आरोप–प्रत्यारोपसमेत देखिएको छ ।

यसै सन्दर्भमा नेकपा सिन्धुलीका पूर्व संयोजक पानिराज बम्जनले आफ्नो फेसबुकमार्फत पार्टीभित्रका केही गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले लेखेका छन्, “दलाल, तस्कर, राजस्व छली, दलाली गर्नेहरू हाम्रा पारिवारिक सम्बन्ध भएका व्यक्तिहरूलाई धेरै टर्चर दिने काम नगर । तिम्रो असली अनुहार सबैले चिनेका छन् । सहिदका फोटोहरू जलाउने क्रान्तिकारी, भ्रष्टाचार गरेर पैसा बुझाउने क्रान्तिकारी, पार्टी कार्यालय जलाउने क्रान्तिकारी ।” उनको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा पार्टीभित्रको अवस्थाबारे थप बहस सुरु भएको छ ।

यता घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष तथा नेकपा घ्याङलेखका इन्चार्ज शंकरमान घलानले पनि आफ्नो फेसबुकमार्फत भेटघाटलाई लिएर आएका टिप्पणीप्रति प्रतिक्रिया दिएका छन् । उनले पार्टीको केन्द्रीयदेखि स्थानीय तहसम्मको नेतृत्वले विगतमा विभिन्न राजनीतिक निर्णय र सहकार्य गर्दा आफूहरू मौन रहेर संगठन निर्माणमा लागिरहेको उल्लेख गरेका छन् ।

घलानले लेखेका छन्, “नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय नेता देखि प्रदेश र जिल्ला नेतृत्वले आफ्नो अनुकूल जतिबेला जोसुकै पार्टीसँग गठबन्धन, एकता र भित्रि रूपमा साँठगाँठलगायत सबै काम गरेर पार्टीलाई कमजोर बनाउँदा पनि हामी मुकदर्शक बनी पार्टीको काम गरिरहनुपर्ने अवस्था रह्यो ।”

उनले आफूले पार्टी छाडेको नभई आफन्तसँग पारिवारिक भेटघाट मात्र गरेको स्पष्ट पार्दै त्यसलाई लिएर आफूलाई पार्टी परिवर्तन गरेको जस्तो प्रचार गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले भनेका छन्, “म चाहिँ पार्टी छोडेको आफन्तसँग पारिवारिक भेटघाट मात्र गर्दा फलानोले पार्टी छोडेर नयाँ पार्टीमा गयो भनेर फोनबाट बधाई खानुपर्ने ?”

घलानले घ्याङलेखमा पार्टी संगठन निर्माणमा आफूहरूको भूमिकाको स्मरण गर्दै स्थानीय तहको संगठनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । उनका अनुसार घ्याङलेख पार्टीलाई दोस्रो स्थानबाट अगाडि बढाउँदै नेतृत्वको जिम्मेवारी सम्हाल्दै आएको अवस्थामा राष्ट्रिय राजनीतिक उतारचढावका बीच पनि पार्टीलाई पहिलो स्थानमा राख्न सफल भएको दाबी गरेका छन् ।

उनले पार्टी निर्माणमा योगदान दिने कार्यकर्ताले प्रशंसा पाउनुको सट्टा आलोचना र आरोप खेप्नुपरेको उल्लेख गर्दै अन्य क्षेत्रको संगठन निर्माणमा ध्यान दिन जिल्ला नेतृत्वलाई आग्रह गरेका छन् । “हाम्रो घ्याङलेख पार्टी निर्माण गर्ने, जोगाउने सबै जिम्मा हाम्रो हो, हामी सम्हाल्छौँ । भ्रम छर्ने काम र मलाई कमजोर बनाउने प्रयास नगर्नुहोस्,” उनले आफ्नो भनाइमा उल्लेख गरेका छन् ।

घलानले घ्याङलेखका केही युवाहरूले पार्टी छाड्नुको कारण आफ्नो व्यक्तिगत गतिविधि नभई जिल्ला नेतृत्वको कार्यशैली भएको दाबी गर्दै नेतृत्वलाई गम्भीर आत्मसमीक्षा गर्न आग्रह गरेका छन् । साथै, पार्टीभित्र असन्तुष्ट रहेका कार्यकर्तालाई कमजोरी सुधार गरी संगठनमै रहने वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

पारिवारिक भेटघाटबाट सुरु भएको यो विषयले नेकपा सिन्धुलीभित्रको आन्तरिक सम्बन्ध, नेतृत्वबीचको विश्वास र संगठन सञ्चालन शैलीबारे पुनः बहस सुरु गराएको छ । पार्टीका स्थानीय नेता तथा कार्यकर्ताबीच देखिएको पछिल्लो गतिविधिलाई आगामी दिनमा कसरी व्यवस्थापन गरिन्छ भन्ने विषय चासोको रूपमा हेरिएको छ ।

bbbb.jpg
undefined

प्रतिक्रिया