मोटरसाइकल दुर्घटना: दुई युवकको मृत्यु, एक घाइते

शनिवार , आश्विन १७, २०८३

मोरङ,१७ असोज — मोरङको लेटाङ नगरपालिका–०९ स्थित हात्तीचोकमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार शुक्रवार राति १०ः३५ बजे जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे.४ प ७४६ नम्बरको मोटरसाइकल भित्री सडकखण्डमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक झापा घेराबारी निवासी २७ वर्षीय कुमार नेपाली, पछाडि सवार सोही स्थानका २५ वर्षीय सन्देश नेपाली र मोरङको पथरीशनिश्चरे गाउँपालिका–०८ निवासी ३२ वर्षीय अमर नेपाली घाइते भएका थिए ।

घाइते तीनै जनालाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको थियो । कुमार नेपाली र सन्देश नेपालीलाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारे हुँदै थप उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको थियो। उपचारकै क्रममा शुक्रवार राति १२ः०० बजे कुमार नेपालीको तथा असोज १७ गते बिहान १२ः०४ बजे सन्देश नेपालीको चिकित्सकले मृत्यु भएको घोषणा गरेका हुन् ।

दुर्घटनामा घाइते भएका अमर नेपालीको भने न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल कसरी दुर्घटनामा परेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया