नवलपरासी, १७ असोज — पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान करिब पौने ४ बजे दुर्घटनामा परेको हो । चालकले बसमाथिको नियन्त्रण गुमाएपछि सडकबाट नालामा पल्टिएको जनाइएको छ ।
बसमा चालकसहित १८ जना सवार थिए । दुर्घटनामा ६ जनाको मृत्यु भएको र १० जना घाइते भएका छन् । बसमा सवार बाँकी २ जना भने सकुशल रहेको बताइएको छ ।
मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । मृत्यु भएका अन्य ५ जनाको परिचय खुल्न बाँकी छ ।
दुर्घटनामा गोरखाका हरिशरण थापा, अछामका तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाकी आकृति, सञ्जय थारु र लालबहादुर कार्की घाइते भएका छन् । त्यस्तै, बाजुराका पवन बुढा र प्रेम बम, ललितपुरका अनोज खत्री, बाँकेका अस्लाम भगवान तथा सल्यानका अनिल बुढाथोकी पनि घाइते भएका छन् ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले बसमा सवार घाइतेहरूको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पु¥याएको छ । घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।