जिप अनियन्त्रित भई  ५० मिटर तल खस्यो , पाँच जना घाइते

सोमवार , आश्विन १२, २०८३

 

इलाम–१२ असोज  इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । दुर्घटनामा घाइतेमध्ये १२ वर्षीया एक बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार २०८३ साल असोज १२ गते बिहान करिब १०ः३० बजे आरुबोटेबाट दमकतर्फ जाँदै गरेको मे १ ज ३३४७ नम्बरको जिप अनियन्त्रित भई सडकको बायाँतर्फबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनाको जानकारी दिउँसो १२ः१० बजे प्रहरी चौकी इभाङमा प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो ।

दुर्घटनामा परी घाइते भएकाहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ का ३६ वर्षीय जिप चालक खेमराज मगरको अवस्था सामान्य रहेको छ ।

त्यस्तै, पाँचथर मिक्लाजुङ गाउँपालिका–५ की ४३ वर्षीया मनकुमारी लावती पनि सामान्य घाइते भएकी छन् । उनका छोरी १२ वर्षीया लाम्सिमी लावतीको अवस्था भने गम्भीर रहेको छ । उनलाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मनकुमारीकै २३ महिनाका छोरा लाम्सेमा लावतीको अवस्था मध्यम रहेको छ ।

दुर्घटनामा पाँचथर तुम्बेवा गाउँपालिका–१ का २१ वर्षीय जनक तामाङ पनि घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको जिप घटनास्थलमै रहेको र सडकमा कुनै किसिमको अवरोध नरहेको प्रहरीले जानकारी दिएको छ । घटनास्थल प्रहरी चौकी इभाङबाट करिब १८ किलोमिटर पश्चिम–उत्तर क्षेत्रमा पर्दछ । प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया