हेटौँडा,१८ असोज – मकवानपुरको मनहरी गाउँपालिकामा चिनी सम्झेर युरिया मल सेवन गर्दा बालबालिकासहित ७ जना बिरामी परेका छन् । मनहरी गाउँपालिका–८, सिमपानीमा शनिबार साँझ अमिलो साँधेर खाने क्रममा चिनीको सट्टा झुक्किएर युरिया मल प्रयोग भएपछि उनीहरू बिरामी परेका हुन् । बिरामी सबैलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार घटना शनिबार साँझ करिब ५ बजे भएको हो । घरमा अमिलो साँधेर खाने तयारी भइरहेका बेला चिनी ठानेर युरिया मल हालिएको र त्यसैबाट तयार गरिएको अमिलो खाएपछि एकपछि अर्को गर्दै परिवार तथा स्थानीय सदस्यमा स्वास्थ्य समस्या देखिएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद धमलाका अनुसार सुरुमा स्थानीय ११ वर्षीया आयुस्का थिङ, ११ वर्षीया आनुस्का थिङ र ९ वर्षीया मानवी घलानले चिनी ठानेर युरिया मल सेवन गरेका थिए । उनीहरूले खाएको देखेपछि तथा अमिलो खाने क्रममा अन्य व्यक्तिले समेत त्यसलाई चिनी नै भएको ठानेर प्रयोग गरेका थिए ।
घटनामा बिरामी पर्ने अन्यमा मनहरी गाउँपालिका–८, सिमपानीकी ४२ वर्षीया सोममाया रुम्बा, ३२ वर्षीया दीपा थिङ, २२ वर्षीय दावा थिङ र ५ वर्षीया सैनिका बल छन् । यसरी युरिया मल सेवनबाट बिरामी पर्नेमा ३ जना प्रारम्भिक रूपमा सेवन गर्ने बालिका र त्यसपछि सेवन गर्ने थप ४ जना गरी कुल ७ जना रहेका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनीहरूलाई उपचारका लागि चितवन लगिएको थियो। हाल सबै जनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । प्रहरीका अनुसार उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य छ र तत्काल गम्भीर जोखिम देखिएको छैन।
घटनामा चिनी र युरिया मल कसरी एकअर्कासँग झुक्किने अवस्थामा राखिएको थियो भन्ने विषयसहित घटनाको विस्तृत कारण भने खुलिसकेको छैन। प्रदेश प्रहरी कार्यालय हेटौँडाले घटनासँग सम्बन्धित थप विवरण सङ्कलन गर्ने काम भइरहेको जनाएको छ ।
घरायसी प्रयोगका खाद्यवस्तु र कृषि प्रयोजनका रासायनिक पदार्थ छुट्टाछुट्टै तथा स्पष्ट पहिचान हुने गरी सुरक्षित स्थानमा राख्नुपर्ने आवश्यकता यस घटनाले पुनः देखाएको छ ।