मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

आइतवार , आश्विन १८, २०८३

तनहुँ,१८ असोज — तनहुको भानु नगरपालिका–१० स्थित तल्लो मैदानमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हटिया–चिसापानी भित्री सडकखण्डमा आइतवार भएको दुर्घटनामा भानु नगरपालिका–१०, तल्लो मैदानका ४५ वर्षीय शंकर पाण्डे र ६५ वर्षीय टंकनीति पाण्डेको उपचारका क्रममा मृत्यु भएको हो ।

हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग १९ प ८०६५ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाएपछि सडकबाट अन्दाजी १० मिटर तल खसेको थियो । दुर्घटनामा मोटरसाइकल चालक शंकर र पछाडि सवार टंकनीति गम्भीर घाइते भएका थिए । 

घाइते शंकरलाई उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर, चितवन पठाइएकोमा सोही अस्पतालमा १२ः०१ बजे उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । यस्तै, पछाडि सवार टंकनीतिलाई उपचारका लागि लमजुङ सामुदायिक अस्पताल, लमजुङ लगिएकोमा ११ः३५ बजे उपचारकै क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परेको मोटरसाइकल घटनास्थलमै रहेको छ । दुर्घटनास्थल अस्थायी प्रहरी बिट कालीमाटी, तनहुँबाट अन्दाजी ३ किलोमिटर पश्चिममा पर्छ। दुर्घटना कसरी भयो भन्ने विषयमा तनहु प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया