बोलेरो जिप दुर्घटना, चालकको घटनास्थलमै मृत्यु, दुई घाइते

बिहिवार , आश्विन १५, २०८३


बझाङ,१५ असोज — जिल्लाको सुर्मा गाउँपालिका–२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसारबिहिवारे बिहान करिब १० बजे दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा सुर्मा गाउँपालिका–४ निवासी अन्दाजी २७ वर्षीय जिप चालक कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिपमा चालकसहित तीन जना सवार रहेका थिए ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी नायब निरीक्षक तेजबहादुर रावलको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोलीले दुर्घटनापछि उद्धार कार्य सञ्चालन गरेको थियो ।

दुर्घटनामा घाइते भएका दुई जनाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई थप उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । दुर्घटनाको कारणबारे प्राविधिक तथा स्थलगत अध्ययनपछि थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया