समुदायसँग सहकार्य बढाउँदै ह्याण्ड्स नेपाल : स्थानीय तहमा सहकार्य विस्तार गर्दै

शनिवार , आश्विन १७, २०८३

सिन्धुली,१७ असोज — मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स नेपाल) को २४औँ वार्षिक साधारण सभा सिन्धुलीको दुधौलीमा शनिवार सम्पन्न भएको छ । संस्थाको वार्षिक कार्यप्रगति समीक्षा, नीति तथा कार्यक्रममाथि छलफल र आगामी कार्यदिशा निर्धारण गर्ने उद्देश्यले आयोजित सभामा विभिन्न साझेदार संस्था, स्थानीय तह, नागरिक समाज तथा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए ।

संस्थाका अध्यक्ष बासुदेव अधिकारीले संस्थाको वर्तमान उपलब्धिमा साधारण सदस्य तथा कर्मचारीहरूको निष्ठापूर्ण भूमिका महत्वपूर्ण रहेको बताए । सिन्धुलीमा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उनले हालसम्म केही महत्वपूर्ण काम सम्पन्न गरिए पनि समुदायको आवश्यकता र अपेक्षाअनुसार थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

स्थानीय तह तथा समुदायसँग साझेदारी गर्दै दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा संस्था अघि बढिरहेको उनको भनाइ थियो । संस्थासँग आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने योजना र उत्साह रहेको उल्लेख गर्दै अधिकारीले कर्मचारी, साझेदार संस्था तथा अन्य सरोकारवालाबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि दुधौली नगरपलिकाका कार्यवाहक नगर प्रमुख चन्द्र किशोर थारुले ह्याण्ड्स नेपाल भरपर्दो र सक्षम साझेदार संस्थाका रूपमा स्थापित भएको उल्लेख गरे । सिन्धुली जिल्लासँगै देशका विभिन्न जिल्लामा संस्थाले उल्लेखनीय योगदान पुर्‍याएको बताउँदै उनले सामुदायिक विकास, सामाजिक सशक्तीकरण र विशेषतः शैक्षिक क्षेत्रमा अझ सशक्त ढंगले काम गर्न सुझाव दिए । उनले संस्थाको निरन्तर प्रगतिको कामना पनि गरे ।

साधारण सभाको बन्द सत्रमा संस्थाका तर्फबाट रामकुमार कार्कीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे भने कुमार पौडेलले आर्थिक वर्षको आय–व्यय समेटिएको आर्थिक प्रतिवेदन पेस गरे । दुवै प्रतिवेदनमाथि सहभागी सदस्यहरूले विस्तृत छलफल गरेपछि सर्वसम्मत रूपमा पारित गरिएको थियो । कार्यक्रमको सञ्चालन रोहित कुमार ढकालले गरेका थिए ।

साझेदारी संस्था प्लान इन्टरनेसनल नेपालका प्रतिनिधि इन्द्र कुमार हायूले सिन्धुलीका ६ स्थानीय तहमा बालबालिकाको अधिकार, शैक्षिक सुधार तथा जीविकोपार्जनका क्षेत्रमा ह्याण्ड्स नेपालसँग सहकार्य भइरहेको जानकारी दिए । समुदायस्तरमा सकारात्मक परिवर्तन ल्याउन संस्थाले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनले आगामी दिनमा पनि प्लान नेपालको साझेदारी र सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा दुधौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले स्थानीय सरकारसँगको समन्वय र सहकार्यलाई थप सुदृढ गर्दै सामाजिक विकासका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

सभामा हेफर प्रोजेक्ट नेपालका प्रतिनिधि, ह्याण्ड्स नेपालका बोर्ड सदस्य, नागरिक समाजका अगुवा, विभिन्न साझेदार निकायका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया