दौलत कार्कीको काँग्रेस सिन्धुली क्षेत्र नं.१ को क्षेत्रीय सचिवमा उम्मेदवारी घोषणा

आइतवार , आश्विन ११, २०८३

 

सिन्धुली,११ असोज – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नम्बर १ को क्षेत्रीय सचिव पदका लागि गोलन्जोर गाउँपालिका–२ का वडाध्यक्ष दौलत कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । संगठनलाई वडा तहबाटै मजबुत बनाउने प्रतिबद्धतासहित कार्कीले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

असोज १३ गते भीमानमा हुने क्षेत्रीय अधिवेशनलाई लक्षित गर्दै कार्कीले ‘वडा बलियो, संगठन बलियो’ भन्ने मूल नारासहित कार्यकर्तामाझ आफ्नो योजना अघि सारेका छन् । उनले क्षेत्रीय सचिवको जिम्मेवारी पाएमा कांग्रेसको संगठनलाई अझ चलायमान, प्रभावकारी र जनमुखी बनाउने बताएका छन् ।

दुई कार्यकाल(२०७४र२०७९) गाउँपािलकाको वडाध्यक्षदेखि तिन कार्यकाल काँग्रेस पार्टीको वडा सभापतिसम्मको जिम्मेवारी सम्हालिसकेका कार्कीले स्थानीय तहको अनुभवलाई क्षेत्रीय संगठन निर्माणमा प्रयोग गर्ने बताएका छन् । वडा तहका समस्या, कार्यकर्ताका सुझाव र स्थानीय आवश्यकतालाई क्षेत्रीय समितिसम्म पु¥याउने तथा क्षेत्रबाट आउने योजना र कार्यक्रमलाई प्रभावकारी रूपमा वडा तहसम्म लैजाने उनको मुख्य प्राथमिकता रहेको छ ।

“संगठनको वास्तविक शक्ति वडा तहमा हुन्छ । वडा बलियो भए मात्रै पार्टीको आधार बलियो हुन्छ,” कार्कीले आफ्नो धारणा राख्दै भने । उनले वडा र क्षेत्रीय समितिबीच नियमित समन्वय र सहकार्यको वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्कीले बदलिँदो समयअनुसार काँग्रेस संगठनलाई प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । पार्टीका गतिविधि, सूचना र कार्यक्रमलाई छिटो, व्यवस्थित र पारदर्शी ढंगले कार्यकर्तासम्म पु¥याउने प्रणाली विकास गर्ने उनको योजना छ ।

युवाको सक्रियता र अनुभवको संयोजनबाट मात्रै संगठन अझ प्रभावकारी बन्ने बताउँदै कार्कीले पुरानो पुस्ताको योगदानको सम्मान गर्दै नयाँ पुस्तालाई जिम्मेवारी र अवसर दिनुपर्ने धारणा राखेका छन् । सक्रिय तथा योग्य कार्यकर्ताको योगदानको उचित मूल्यांकन गर्ने संस्कार विकास गर्नुपर्ने उनको जोड छ ।

क्षेत्रीय सचिव पदमा आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत पद प्राप्तिका लागि नभई संगठन निर्माणको उद्देश्यले भएको कार्कीले बताएका छन्। उनले गुट–उपगुटभन्दा माथि उठेर सबैलाई समेट्ने र एकताबद्ध कांग्रेस निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “पदका लागि होइन, संगठन निर्माणका लागि जिम्मेवारी लिन चाहेको हुँ,” कार्कीले भनेका छन् ।

क्षेत्रीय अधिवेशन नजिकिँदै गर्दा कार्कीले वडा सभापति, क्षेत्रीय प्रतिनिधि तथा काँग्रेसका नेता–कार्यकर्तासँग समर्थन, सुझाव र सहयोगको आग्रह गरेका छन् । उनले सबैको साथ र सहकार्यबाट क्षेत्र नम्बर १ मा काँग्रेस संगठनलाई थप मजबुत र गतिशील बनाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया