विपी राजमार्गबारे सूचना मात्रै होइन, दीर्घकालीन समाधान खोज्ने बेला

शनिवार , आश्विन १७, २०८३

सिन्धुली,१७ असोज – संघीय राजधानी काठमाडौंलाई  तराई जोड्ने महत्वपूर्ण सडकमार्गका रूपमा रहेको विपी राजमार्ग पछिल्लो समय प्राकृतिक विपत्ति, सडक क्षति र दीर्घकालीन व्यवस्थापनका कारण चर्चामा रहँदै आएको छ । यसै सन्दर्भमा सिन्धुली क्षेत्र नं. २ का सांसद तथा प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले शनिबार सामाजिक सञ्जालमार्फत “विपी राजमार्ग सञ्चालनमा रहेको र कुनै समस्या नरहेको” जानकारी सार्वजनिक गरे ।

सार्वजनिक पदमा रहेका व्यक्तिले नागरिकलाई सूचना दिनु सकारात्मक पक्ष भए पनि, पूर्वाधार विकास समितिको सभापतिको भूमिकालाई हेर्दा उनको जिम्मेवारी सूचना प्रवाहमा मात्र सीमित छैन । उनले नेतृत्व गरिरहेको समितिको मुख्य दायित्व देशका पूर्वाधार क्षेत्रका समस्या पहिचान गर्ने, सरकारलाई आवश्यक निर्देशन दिने, नीति निर्माणमा सहयोग गर्ने र दीर्घकालीन समाधानका लागि पहल गर्ने हो ।

विपी राजमार्ग सामान्य सडक मात्र होइन । यो राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने रणनीतिक मार्ग हो । यस मार्गमा हुने अवरोधले हजारौँ यात्रु, व्यवसायी, स्थानीय बासिन्दा र समग्र आर्थिक गतिविधिमा प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले तत्काल सडक सञ्चालनमा छ भन्ने जानकारीसँगै यसको स्थायित्व, सुरक्षित सञ्चालन र भविष्यमा आउन सक्ने जोखिम न्यूनीकरणका विषयमा पनि गम्भीर पहल आवश्यक देखिन्छ ।

पूर्वाधार विकास समितिका सभापतिले सामाजिक सञ्जालमार्फत जानकारी दिनेभन्दा माथि उठेर विपी राजमार्गको अवस्थाबारे प्राविधिक अध्ययन, जोखिम मूल्यांकन र दीर्घकालीन योजना निर्माणमा नेतृत्वदायी भूमिका खेल्न सक्ने अपेक्षा गरिन्छ । विगतमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिका कारण सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको अवस्थामा स्थायी समाधानका लागि सरकारका सम्बन्धित निकायबीच समन्वय, बजेट व्यवस्थापन र आवश्यक नीति निर्माण महत्वपूर्ण विषय हुन् ।

सांसद तथा समिति सभापतिको भूमिका जनताले भोगिरहेका समस्या समाधान गर्ने दिशामा केन्द्रित हुनुपर्ने हुन्छ । सडक सञ्चालनमा छ भन्ने जानकारी महत्वपूर्ण भए पनि नागरिकको वास्तविक चासो भनेको सडक कति सुरक्षित छ, यसको दीर्घकालीन संरक्षण कसरी हुन्छ र भविष्यमा अवरोध आउँदा तत्काल समाधान गर्ने संयन्त्र कस्तो हुन्छ भन्ने हो ।

सार्वजनिक पदमा रहेका व्यक्तिहरूले सामाजिक सञ्जाललाई जनतासँग संवाद गर्ने माध्यमका रूपमा प्रयोग गर्न सक्छन् । तर सामाजिक सञ्जालमा सूचना सम्प्रेषणसँगै आफ्नो संवैधानिक तथा संस्थागत जिम्मेवारीअनुसार परिणाममुखी काममा पनि ध्यान दिनुपर्ने आवश्यकता हुन्छ ।

विपी राजमार्गलाई स्थायी, सुरक्षित र भरपर्दो बनाउन पूर्वाधार विकास समितिले सम्बन्धित मन्त्रालय, सडक विभाग, विज्ञ तथा स्थानीय सरोकारवालासँग सहकार्य गर्दै ठोस योजना अघि बढाउनु अहिलेको आवश्यकता हो । सडक चलेको जानकारीभन्दा पनि सडक दीर्घकालसम्म कसरी सुरक्षित राख्ने भन्ने प्रश्नको जवाफ खोज्नु नै जिम्मेवार नेतृत्वको मुख्य परीक्षा हुनेछ ।

hhh.jpg
undefined

प्रतिक्रिया