४७ वर्षे राजनीतिक यात्राबाट विश्राम लिँदै शान्तिमान कार्की

आइतवार , आश्विन ११, २०८३

सिन्धुली,११ असोज – सिन्धुलीको वामपन्थी राजनीतिमा लामो समयदेखि परिचित नाम शान्तिमान कार्कीले सक्रिय पार्टी राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् । झण्डै पाँच दशक लामो राजनीतिक यात्रापछि कार्कीले अब आफ्नो जीवन आफ्नै ढंगले अघि बढाउने बताएका छन् ।

कार्कीले आफ्नो फेसबुक पेजमार्फत सक्रिय राजनीतिबाट अलग रहने संकेत गर्दै लेखेका छन्, “अब म लगभग ४७ वर्षदेखि बाँधिएको सिक्रीबाट मुक्त भएको छु । बाँकी जीवन म आफ्नै ढंगले बाँच्नेछु ।” उनको यो भनाइसँगै सिन्धुलीको वामपन्थी वृत्तमा उनको राजनीतिक यात्राको समीक्षा र चर्चा सुरु भएको छ ।

सिन्धुलीमा वामपन्थी संगठन निर्माणको प्रारम्भिक चरणदेखि नै सक्रिय रहेका कार्कीले तत्कालीन माले हुँदै नेकपा एमालेको संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । जिल्लामा वामपन्थी विचार र संगठनलाई विस्तार गर्ने क्रममा उनले लामो समय पार्टी संगठन, कार्यकर्ता परिचालन र राजनीतिक अभियानमा योगदान पु¥याएको बताइन्छ ।

बहुदलीय राजनीतिक अभ्यास सुरु भएपछि एमालेभित्र सक्रिय रहेका कार्की पछि माओवादी आन्दोलनमा समेत जोडिएका थिए । माओवादी सशस्त्र द्वन्द्वको समयमा उनी भूमिगत भएर आन्दोलनमा सहभागी भएका थिए । जनयुद्धकालीन राजनीतिक गतिविधिमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनका सहकर्मीहरू बताउँछन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि कार्की पुनः एमालेमै रहेका थिए । लामो समयसम्म कम्युनिष्ट आन्दोलनसँग जोडिएका उनले पछिल्लो समय पार्टी राजनीतिमा देखिएका प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै सक्रिय भूमिकाबाट टाढिने निर्णय सार्वजनिक गरेका हुन् ।

आफ्नो फेसबुक अभिव्यक्तिमा कार्कीले पछिल्लो कम्युनिष्ट राजनीतिक अवस्थाप्रति कडा टिप्पणी गरेका छन् । उनले लेखेका छन्, “तथाकथित कम्युनिष्ट पार्टीहरू जब दास र भाटहरूको भर्ती केन्द्र बन्न पुगे, तबदेखि नै भयानक राजनीतिक दुर्घटनाका सबै द्वारहरू खुला भए, अब समाप्तिबाहेक कुनै विकल्प छैन ।”

उनले ठूला भनिएका कम्युनिष्ट पार्टीभित्र बिचौलिया र दलाल प्रवृत्ति बढेको आरोप लगाउँदै श्रमजीवी वर्गले कम्युनिष्ट पार्टीको झण्डा छोड्न थालेपछि अहिलेको राजनीतिक अवस्था सिर्जना भएको उल्लेख गरेका छन् । उनको भनाइमा, “अहिलेको अवस्था आउनमा ठूला भनिएका कम्युनिष्ट पार्टीभित्र बिचौलिया र दलालहरूको बिगबिगी बढेसँगै श्रमजीवी वर्गले कम्युनिष्ट पार्टीको झण्डा फालिदिएपछि नै सिंहदरबारमा डढेलो सल्किएको हो ।”

कार्कीले आफ्नो राजनीतिक निष्कर्षलाई अझ स्पष्ट पार्दै उक्त सत्यलाई अस्वीकार गर्ने व्यक्ति वास्तविक कम्युनिष्ट वा सामान्य राजनीतिक चेतना भएको नागरिकसमेत हुन नसक्ने टिप्पणी गरेका छन् ।

झण्डै ४७ वर्ष लामो राजनीतिक यात्रामा कार्कीले नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न चरण प्रत्यक्ष अनुभव गरेका छन् । पञ्चायती व्यवस्थाको अन्तिम चरणदेखि बहुदलीय व्यवस्थाको स्थापना, माओवादी सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया हुँदै पछिल्लो समयको पार्टी विभाजनसम्मका राजनीतिक घटनाक्रममा उनी कुनै न कुनै रूपमा संलग्न रहँदै आएका थिए ।

वामपन्थी आन्दोलनमा संगठनकर्ता, कार्यकर्ता र राजनीतिक अभियन्ताका रूपमा परिचित कार्कीको राजनीतिक यात्रा उतारचढावपूर्ण रह्या े। एउटै विचारधाराभित्र रहेर विभिन्न राजनीतिक धारको अनुभव गरेका उनले अन्ततः पार्टी संरचनाभन्दा बाहिर रहेर व्यक्तिगत जीवन बिताउने निर्णय लिएका छन् ।

कार्कीको यो निर्णयलाई कतिपयले लामो राजनीतिक यात्रापछिको व्यक्तिगत विश्रामका रूपमा हेरेका छन् भने कतिपयले यसलाई पछिल्लो कम्युनिष्ट राजनीतिक अभ्यासप्रतिको असन्तुष्टिको अभिव्यक्तिका रूपमा लिएका छन् । तर, सिन्धुलीको वामपन्थी इतिहासमा उनको नाम लामो समयसम्म संगठन निर्माण र राजनीतिक सक्रियतासँग जोडिएर रहने देखिन्छ ।

प्रतिक्रिया