डिभोर्सको दुई वर्षपछि पनि रोकिएन एलिना र विष्णुको घोचपेच

आइतवार , आश्विन १८, २०८३

काठमाडौं,१८ असोज – सम्बन्धविच्छेदलाई नेपाली समाजले विगतजस्तो असामान्य वा अनौठो घटनाका रूपमा हेर्न छाड्दै गएको छ । वैवाहिक सम्बन्ध टुटेपछि पनि व्यक्तिले सामाजिक तथा व्यावसायिक जीवनलाई सामान्य रूपमा अघि बढाइरहेका उदाहरण प्रशस्तै छन् । कलाकारिता क्षेत्रमा त सम्बन्धविच्छेदपछि पनि सफलतापूर्वक सार्वजनिक जीवन बिताइरहेका गायक, गायिका तथा अभिनेता–अभिनेत्री धेरै छन् ।

तर गायिका एलिना चौहान र विष्णु सापकोटाको सम्बन्धविच्छेद भएको करिब दुई वर्ष पुग्न लाग्दासमेत उनीहरूबीच सार्वजनिक रूपमा हुने घोचपेच रोकिएको छैन । पछिल्लो पटक एलिनाको व्यवसायसँग जोडिएको एउटा प्रसंगले दुवैलाई फेरि सामाजिक सञ्जालमार्फत आमनेसामने बनाएको छ ।

पछिल्लो समय व्यवसायमा सक्रिय एलिनाले घरधनीसँगको विवादपछि आफ्नो बुटिक अर्को स्थानमा सारेकी छन् । यही विषयलाई लिएर सामाजिक सञ्जालमा ‘विष्णुले घर किनेर एलिनालाई निकाले’ भन्ने आशयका सामग्री फैलिएका थिए । उक्त प्रचारलाई विष्णुले ‘मिडिया ट्रायल’का रूपमा व्याख्या गर्दै योजनाबद्ध रूपमा आफ्नो नाम जोडिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले प्रश्न गरेका छन्, “मेरो नाम बेचेर कसैको आम्दानी र कन्टेन्टको पहुँच बढाउने माध्यम बनाइएको हो ?” एलिनाप्रति लक्षित अर्को टिप्पणीमा उनले लेखेका छन्, “कहिले गीत चलाउन, कहिले जिन्दगी चलाउन त कहिले व्यवसाय चलाउन विष्णु नभइ नहुने भएको बजारमा ?”

एलिनाको गीत सार्वजनिक हुने समयमा पनि विष्णुसँग सम्बन्धित विवाद चर्चामा आउने गरेको र अहिले व्यवसाय सुरु गर्दा समेत आफ्नो नाम जोडिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । उनले आफूले उक्त घर किनेको भन्ने प्रचारमा कुनै सत्यता नरहेकोसमेत दाबी गरेका छन् ।

विष्णुको अभिव्यक्ति सार्वजनिक भएको केही घण्टामै एलिनाले पनि प्रतिक्रिया दिएकी छन् । उनले लेखेकी छन्, “यो कुरा म घमण्डले होइन, आत्मविश्वासका साथ भन्छु । मलाई आफ्नो पहिचान बनाउन कसैको नामको साहारा चाहिँदैन । त्यसैले मेरो विगतसँग जोडिएका कुनै नाम वा सम्बन्धलाई बारम्बार निकालेर मेरो आजको परिचय बनाइदिन आवश्यक छैन ।”

एलिनाले आफ्नो आत्मसम्मानमा आँच पुग्ने किसिमका समाचार तथा सामग्री फैलाउनेविरुद्ध कानुनी उपचार खोज्ने चेतावनीसमेत दिएकी छन् । उता विष्णुले पनि चरित्रहत्या स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

सम्बन्धविच्छेद भएको लामो समय बितिसक्दा पनि आपसी प्रतिक्रिया, सामाजिक सञ्जालका टिप्पणी र त्यसमा आउने प्रत्युत्तरका कारण एलिना र विष्णुको विगतको सम्बन्ध पटक–पटक सार्वजनिक चर्चामा आइरहेको छ । एलिनाले सम्बन्धविच्छेदसँग सम्बन्धित टिप्पणीमा प्रत्यक्ष प्रतिक्रिया दिने र ती प्रतिक्रिया सामाजिक सञ्जालमा भाइरल हुने क्रमले पनि उनीहरूको पुरानो सम्बन्धसँग जोडिएको चर्चा सेलाउन सकेको छैन ।

प्रतिक्रिया