काठमाडौं, ३० भदौ – अभिनेत्री नीता ढुङ्गानाको निर्देशनमा बनेको नेपाली चलचित्र ‘पार्वती’ले घरेलु बजारमा उत्साहजनक व्यापार गरेको छ । प्रारम्भिक चरणमा सीमित सो पाएको चलचित्रले सकारात्मक दर्शक प्रतिक्रिया र बलियो ‘माउथ पब्लिसिटी’का कारण प्रदर्शनको क्रमसँगै व्यापारमा सुधार ल्याएको हो ।
चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘सिनेपा बक्सअफिस’ को तथ्यांकअनुसार भदौ २८ गतेसम्म ‘पार्वती’ले घरेलु बजारबाट २ करोड ५ लाख ८५ हजार ५ सय ९३ रुपैयाँको कारोबार गरेको छ । सो अवधिमा चलचित्रका लागि ७३ हजार २ सय २३ वटा टिकट बिक्री भएको तथ्यांकमा उल्लेख छ ।
अटिजम प्रभावित दिदी र भाइबीचको आत्मीय सम्बन्ध, पारिवारिक जिम्मेवारी तथा संघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रको कथावस्तुले दर्शकको ध्यान आकर्षित गरेको निर्माण पक्षको भनाइ छ । चलचित्र हेरेपछि हलबाट बाहिरिने क्रममा धेरै दर्शक भावुक बनेको निर्माण टोलीले जनाएको छ ।
चलचित्रप्रति दर्शकको प्रतिक्रिया बुझ्न तथा प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन अहिले निर्माण टोली कलाकारसहित देशका विभिन्न स्थानका हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ ।
हरिहर अधिकारीको निर्माण रहेको ‘पार्वती’मा नीता ढुङ्गानासँगै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेलको अभिनय रहेको छ । चलचित्रको कथा तथा पटकथा निर्देशक ढुङ्गानाकै रहेको छ भने शिवम् अधिकारीले लेखन गरेका हुन् ।
चलचित्रका कार्यकारी निर्माता शंकर पाण्डे हुन् । यसको वितरणको जिम्मेवारी एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले सम्हालेका छन् ।