बुधवार, कार्तिक १२ गते २०८३

Wednesday 28th October 2026

‘अर्नव’ चक्रवातको जोखिम : सिन्धुलीमा सतर्कता अपनाउन आग्रह

बुधवार , कार्तिक १२, २०८३

सिन्धुली,११ कात्तिक — बंगालको खाडीमा विकसित भइरहेको ‘अर्नव’ नामको चक्रवात थप शक्तिशाली बन्दै गएपछि सिन्धुलीमा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले २०८३ साल कात्तिक ९ गते जारी गरेको विशेष मौसमी बुलेटिनलाई आधार मान्दै प्रशासनले कात्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म देशका धेरै स्थानमा तथा सिन्धुली जिल्लाका केही वा सबै क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी र मध्यमदेखि भारी वर्षा हुन सक्ने जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलद्वारा बुधवारजारी सूचनामा सम्भावित जोखिमबाट जोगिन कृषि कार्यदेखि यात्रासम्म विशेष सावधानी अपनाउन भनिएको छ । धानबाली काट्ने र भित्र्याउने कार्य मौसमको पूर्वानुमान हेरेर गर्न तथा गराउन प्रशासनले अनुरोध गरेको छ ।

त्यसैगरी नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भूभाग, भिरालो जमिन र डुबान हुन सक्ने क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । जोखिमका सङ्केत देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा सर्न तथा स्थानीय तह र सुरक्षा निकायसँग सम्पर्क गर्न पनि सूचनामा उल्लेख छ ।

अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा तथा रातिको समयमा यात्रा नगर्न र यात्राअघि सडक तथा मौसमको अवस्थाबारे जानकारी लिन प्रशासनले सुझाव दिएको छ । बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति र बिरामीको सुरक्षामा विशेष ध्यान दिन तथा पशुपन्छी, खाद्यान्न, औषधि, महत्त्वपूर्ण कागजात र आवश्यक सामग्री सुरक्षित राख्न पनि आग्रह गरिएको छ ।

मौसम विज्ञान विभाग, संघीय तथा प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायबाट जारी हुने आधिकारिक सूचना नियमित रूपमा लिन र निर्देशन पालना गर्न जिल्लावासी, सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र र सञ्चारमाध्यमलाई प्रशासनले अनुरोध गरेको छ ।

थप जानकारीका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीका ०४७–५२०६१० र ०४७–५२०१३३, वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, नेपाल प्रहरीका ०४७–५२०१९९ र १०० तथा जिल्ला ट्राफिक कार्यालयका ९८५४०००३६ र १०३ मा सम्पर्क गर्न सकिनेछ । सूचनामा जिल्ला आपत्कालीन केन्द्रको सम्पर्क नम्बर १२३४ पनि उल्लेख गरिएको छ ।

प्रशासनले चक्रवातको सम्भावित प्रभावबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सबै पक्षलाई पूर्वतयारी र सतर्कतामा जुट्न आग्रह गरेको छ ।

 

प्रतिक्रिया