काठमाडौँ,११ कात्तिक – बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना देखिएपछि जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै आइतबार बिहानसम्मका लागि चेतावनी नक्सा जारी गरेको छ ।
महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार चक्रवात हाल भारतको आन्ध्र प्रदेश र यानम आसपासको समुद्री तटीय क्षेत्रमा केन्द्रित छ । उक्त प्रणाली जमिनमा प्रवेश गर्ने क्रममा रहेकाले दिउँसोसम्म पूर्ण रूपमा स्थलभागमा पुग्ने अनुमान छ । यसको प्रभाव नेपालमा देखिन थालिसकेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल लागेको छ भने बिहान लुम्बिनीका एक–दुई स्थानमा हल्का वर्षा भएको छ ।
महर्जनका अनुसार स्थलभागमा प्रवेश गरेपछि चक्रवात क्रमशः कमजोर बन्दै भारतको आन्तरिक भूभाग हुँदै अघि बढ्नेछ । आगामी कात्तिक १३ गतेसम्म यो प्रणाली नेपाल नजिकको भारतीय भूभाग, विशेषगरी उत्तर प्रदेश र बिहार आसपास पुग्ने अनुमान गरिएको छ । कमजोर अवस्थामा रहे पनि यसले नेपालका अधिकांश क्षेत्रमा मौसम प्रभावित पार्ने सम्भावना छ ।
पूर्वानुमानअनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीसहित कर्णाली तथा सुदूरपश्चिमका हिमाली भूभागका ७० देखि १०० प्रतिशत स्थानमा मध्यम वर्षा हुन सक्छ । कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका करिब ७० प्रतिशत स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ ।
यसैगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने आकलन गरिएको छ । कर्णाली र सुदूरपश्चिमका केही स्थानमा समेत भारी वर्षा हुन सक्छ । ती दुई प्रदेशमा पश्चिमी वायुको समेत प्रभाव रहने भएकाले मेघगर्जन, चट्याङ र असिनापानीको जोखिम रहेको महाशाखाले जनाएको छ ।
जारी चेतावनी नक्साअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा रातो रङको रेड अलर्ट जारी गरिएको छ । कोशीको पहाडी भूभाग, मधेस, बागमती र गण्डकीका पहाड तथा तराई, लुम्बिनीका पहाडी क्षेत्र र पूर्वी तराई तथा कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा सुन्तला रङको अरेन्ज अलर्ट कायम गरिएको छ । अन्य भूभागमा पहेँलो सङ्केतमार्फत सचेत रहन आग्रह गरिएको छ ।
महाशाखाले मौसमी सूचनामा नियमित अद्यावधिक रहन र सम्भावित विपद्को प्रतिकार्यका लागि आवश्यक तयारी गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।