बिहिवार, आश्विन २९ गते २०८३

Thursday 15th October 2026

काँग्रेस केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा, श्याम घिमिरे ४६औँ स्थानमा

बिहिवार , आश्विन २९, २०८३

काठमाडौं,२९ असोज – । नेपाली काँग्रेसको खुलातर्फका ४५ केन्द्रीय सदस्य चयनका लागि जारी मतगणना अन्तिम चरणमा पुग्दा पूर्वप्रमुख सचेतक श्याम घिमिरे निर्वाचित हुने स्थानभन्दा बाहिर रहेका छन् । कुल ७ हजार मतमध्ये ६ हजार ४ सय मत गणना भइसक्दा घिमिरे १ हजार ९ सय ८६ मतसहित ४६औँ स्थानमा छन् ।

निर्वाचित हुने ४५औँ स्थानमा रहेका सुधान्सु कोइरालाले २ हजार ५८ मत प्राप्त गरेका छन् । घिमिरे र कोइरालाबीच ७२ मतको अन्तर छ । अब ६ सय मत गणना हुन बाँकी रहँदा घिमिरेलाई निर्वाचित हुने सूचीमा प्रवेश गर्न थप मत आवश्यक देखिएको छ ।

मतगणनाको सुरुदेखि नै घिमिरेले खुलातर्फ निर्वाचित हुने ४५ जनाको सूचीमा स्थान बनाउन संघर्ष गर्दै आएका छन् । मतगणनाका विभिन्न चरणमा उनी ४६औँ, ४७औँ र ४८औँ स्थानमा रहेका थिए । पछिल्लो मतपरिणाममा उनी ४६औँ स्थानमा उक्लिए पनि निर्वाचित हुने न्यूनतम स्थानसम्म पुग्न सकेका छैनन् ।

यसैबीच, खुलातर्फको केन्द्रीय सदस्य निर्वाचनमा चिरिबाबु महर्जनले सर्वाधिक ४ हजार ८ सय ८३ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । निश्कल राई दोस्रो, इन्द्र बानियाँ तेस्रो र डा. गोविन्दराज पोखरेल चौथो स्थानमा रहेका छन् ।

मतगणना अन्तिम चरणमा पुगे पनि सबै मत गणना हुन बाँकी रहेकाले घिमिरेसहित सीमावर्ती स्थानमा रहेका उम्मेदवारहरूको अन्तिम परिणाम निश्चित भइसकेको छैन । बाँकी मतगणनापछि मात्रै खुलातर्फ निर्वाचित हुने ४५ केन्द्रीय सदस्यको अन्तिम सूची टुंगो लाग्नेछ ।

प्रतिक्रिया