बिहिवार, आश्विन २९ गते २०८३

Thursday 15th October 2026

न्यायाधीश बम हत्या प्रकरणका दोषी थापा सर्लाहीबाट पक्राउ

बिहिवार , आश्विन २९, २०८३

सर्लाही, २९ असोज – सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका बेला कारागारबाट फरार भएका ४८ वर्षीय मेघराज भन्ने बाबु थापा  पक्राउ परेका छन् । जेनजी आन्दोलनका क्रममा काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथदेवलबाट भागेका उनलाई प्रहरीले बुधबार राति जिल्ला सर्लाही, बागमती नगरपालिका–१ बाट मिलनचोकस्थित आफ्नै घरबाट पक्राउ गरेको हो ।

सर्लाहीका प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलका अनुसार थापा घर फर्किएको सूचना पाएपछि परिचालित प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउका क्रममा उनको साथबाट दुई थान पेस्तोल, तीनवटा म्यागजिन र १५ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । बरामद हतियारका सम्बन्धमा उनीविरुद्ध सर्लाही जिल्ला अदालतमा हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा मुद्दा चलाउने प्रक्रिया अघि बढाइने भएको छ ।

गत २४ भदौमा कारागारबाट फरार भएपछि थापा नेपाल र भारतका विभिन्न स्थानमा लुकेर बसेको प्रहरीको भनाइ छ । पहिचान लुकाउन भेष बदल्ने र सम्पर्कका लागि आवश्यकताअनुसार अरूको मोबाइल प्रयोग गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनको खोजी जारी राखेको थियो ।

न्यायाधीश बम हत्या प्रकरणमा थापा यसअघि पनि लामो अनुसन्धानपछि पक्राउ परेका थिए । दुई वर्ष सात महिनाको निगरानी र खोजीपछि प्रहरीले २०७१ सालमा उनलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो । तत्कालीन समयमा उक्त पक्राउलाई प्रहरीको महत्वपूर्ण उपलब्धि मानिएको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आयोजना गरेको पत्रकार सम्मेलनमा तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल स्वयं उपस्थित भएका थिए । उनले उक्त सफलतालाई प्रहरीको घाँटीमा अडकिएको काँडा निकालिएसरह भएको टिप्पणी गरेका थिए ।

चुरेभावर राष्ट्रिय पार्टीका तत्कालीन उपाध्यक्ष थापा पार्टीको आन्तरिक नेतृत्व विवादसँग जोडिएको न्यायाधीश बम हत्या प्रकरणमा दोषी ठहर भएका व्यक्ति हुन् । न्यायाधीश बमको २०६९ जेठ १८ गते ललितपुरको यूएन पार्क क्षेत्रमा गोली हानी हत्या गरिएको थियो । बंगलामुखी मन्दिरमा दर्शन गरेर फर्कंदै गर्दा उनको सवारीसाधन रोकेर गोली प्रहार गरिएको थियो ।

प्रहरी अनुसन्धानअनुसार हत्याको पृष्ठभूमिमा चुरेभावर राष्ट्रिय पार्टीको नेतृत्व विवाद र सर्वोच्च अदालतको अन्तरिम आदेश जोडिएका थिए । निर्वाचन आयोगले केशव मैनालीको सट्टा थापा नेतृत्वको समूहलाई वैधानिकता दिएपछि मैनाली सर्वोच्च अदालत पुगेका थिए ।

त्यसपछि न्यायाधीश बमको एकल इजलासले आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । उक्त आदेशले आफ्नो राजनीतिक भविष्य समाप्त हुने ठानेर थापाले हत्याको योजना बनाएको अनुसन्धानको निष्कर्ष थियो । तत्कालीन अनुसन्धान अधिकारीहरूले पनि राजनीतिक विवाद र न्यायिक आदेशलाई हत्याका प्रमुख कारणका रूपमा औंल्याएका थिए । कारागारबाट फरार भएपछि लामो समयसम्म प्रहरीको खोजीमा रहेका थापा अन्ततः आफ्नै घरबाट पक्राउ परेका हुन् ।

प्रतिक्रिया