सिन्धुली,१८ अशोज — सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित बागमारामा बौलाहा स्याल बस्तीमै प्रवेश गरी स्थानीय महिला तथा घरपालुवा पशुचौपायालाई टोकेपछि स्थानीयमा रेबिज संक्रमणको त्रास बढेको छ ।
आइतबार बिहान करिब ९ बजे जंगलबाट अचानक बस्तीमा पसेको स्यालले स्थानीय नारायण मगरकी श्रीमती नविना मगरलाई घरको आँगनमै आक्रमण गरेको हो । स्यालको टोकाइबाट मगर गम्भीर घाइते भएकी छन् । घटनालगत्तै उनी प्राथमिक उपचार तथा रेबिजविरुद्धको खोप लगाउन स्वास्थ्य संस्थातर्फ गएकी छन् ।
बस्तीमा पसेको स्यालले मानिसलाई मात्र नभई घरपालुवा पशुचौपायालाई समेत आक्रमण गरेको स्थानीयले बताएका छन् । स्थानीय सूर्य तामाङका अनुसार स्यालले मगर परिवारले पालेको राँगालाई पनि टोकेको छ । स्याल बौलाहा अवस्थामा देखिएकाले आसपासका अन्य घरमा पालिएका गाई, भैंसी, भेडा तथा बाख्रालाई समेत टोकेको हुनसक्ने स्थानीयको आशंका छ ।
मानिससँगै पशुचौपायामा पनि रेबिज संक्रमण हुनसक्ने जोखिम देखिएपछि बागमारा क्षेत्रका बासिन्दा चिन्तित बनेका छन् । विशेषगरी टोकाइमा परेका पशुको समयमै पहिचान, परीक्षण र आवश्यक उपचार नभए संक्रमण फैलिन सक्ने भन्दै स्थानीयले तत्काल सम्बन्धित निकायको सक्रियता आवश्यक रहेको बताएका छन् ।
घाइते महिला उपचारका लागि अस्पताल पुगे पनि स्यालको टोकाइमा परेका घरपालुवा गाईवस्तु, भेडाबाख्रा तथा अन्य पशुको हालसम्म उपचार हुन नसकेको स्थानीयको भनाइ छ। पशुमा रेबिज सङ्क्रमण भए–नभएको पहिचान गर्न तथा आवश्यक खोप वा उपचारको व्यवस्था मिलाउन कमलामाई नगरपालिका र पशु सेवा शाखाले तत्काल पहल गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।
दिनदहाडै जंगलबाट आएको स्याल बस्तीमा प्रवेश गरी मानिस र पशुचौपायामाथि आक्रमण गरेपछि गाउँमा असुरक्षाको वातावरण सिर्जना भएको छ। फेरि यस्तै प्रकृतिको घटना हुनसक्ने आशंकाले स्थानीयहरू घरबाहिर निस्कनसमेत डराउन थालेका छन् ।
बागमाराबासीले बस्ती आसपासमा अन्य संक्रमित वा असामान्य व्यवहार देखाउने जंगली जनावर रहे–नरहेको निगरानी गर्न, स्यालको सम्पर्कमा आएका पशुको पहिचान गरी आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन तथा सम्भावित रेबिज संक्रमण नियन्त्रणका लागि सम्बन्धित सरकारी निकायले तत्काल समन्वयात्मक कदम चाल्नुपर्ने बताएका छन् ।
स्रोत : शंकर सौगात