देउवा पक्षको सिन्धुली अभियान खुर्कोटबाट सुरु

आइतवार , आश्विन १८, २०८३

सिन्धुली,१८ असोज — नेपाली काँग्रेसभित्र देउवा पक्षले सिन्धुलीमा आफ्नो सांगठनिक गतिविधि वडा तहबाट अघि बढाउन थालेको छ । जिल्लाको गोलन्जोर गाउँपालिका–७, खुर्कोटमा वडा अधिवेशन सम्पन्न गर्दै उक्त पक्षले स्थानीय तहमा संगठन विस्तारको औपचारिक सुरुआत गरेको हो ।

असोज १७ गते खुर्कोटमा आयोजित वडा अधिवेशन सञ्जीव बस्नेतको संयोजकत्वमा सम्पन्न भएको हो । अधिवेशनमा ७० जनाभन्दा बढीको उपस्थिति रहेको आयोजक पक्षले जनाएको छ । जिल्लामा देउवा पक्षको तर्फबाट आयोजित यो पहिलो वडा अधिवेशन भएको बताइएको छ ।

अधिवेशनले गोलन्जोर गाउँपालिका–७ को वडा नेतृत्वसमेत चयन गरेको छ । अर्जुन माझी वडा सभापतिमा चयन भएका छन् । उपसभापतिमा रेणुका बस्नेत र कुमार माझी चयन भएका छन् भने सविन माझीले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।

त्यस्तै, रामकुमार माझी सचिवमा चयन भएका छन् । भक्तबहादुर माझी र यसोदा आचार्य सहसचिवको जिम्मेवारीमा चयन भएका छन् । यसरी अधिवेशनले वडा तहको नेतृत्व संरचना तयार गर्दै आगामी सांगठनिक गतिविधि सञ्चालन गर्ने आधार बनाएको छ ।

वडा अधिवेशनसँगै देउवा पक्षले सिन्धुलीमा आफ्नो पहिलो सम्पर्क कार्यालय पनि स्थापना गरेको छ । गोलन्जोर गाउँपालिका–७ को खुर्कोटमा स्थापना गरिएको उक्त कार्यालयलाई जिल्लामा पक्षको सांगठनिक सम्पर्क र समन्वयका लागि प्रयोग गरिने बताइएको छ । वडा अधिवेशन र सम्पर्क कार्यालय स्थापना एकै स्थानबाट सुरु हुनुलाई जिल्लामा संगठनलाई वडा तहसम्म विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ ।

खुर्कोटबाट सुरु भएको वडा अधिवेशनलाई सिन्धुलीका अन्य वडामा पनि विस्तार गर्ने तयारी रहेको जनाइएको छ । आयोजक पक्षका अनुसार जिल्लाका बाँकी वडामा क्रमशः वडा अधिवेशन आयोजना गर्ने योजना छ । त्यसअनुसार स्थानीय तहमा संगठन निर्माण तथा नेतृत्व चयनको प्रक्रिया अघि बढाइनेछ । 


नेपाली काँग्रेसको संगठनको आधारभूत संरचना वडा तहसम्म फैलिएको अवस्थामा खुर्कोटमा सम्पन्न अधिवेशनले स्थानीय नेतृत्व चयनसँगै देउवा पक्षको जिल्ला तहको सांगठनिक सक्रियतालाई पनि औपचारिक रूप दिएको छ । गोलन्जोर गाउँपालिका–७ बाट सुरु भएको यो अभियानलाई सिन्धुलीका अन्य वडासम्म पु¥याउने तयारीसँगै जिल्लाभर देउवा पक्षको संगठन विस्तारको क्रम अघि बढ्ने भएको छ ।

प्रतिक्रिया