तास खेलिरहेको अवस्थामा पक्राउ परेका व्यक्तिको मृत्यु

मंगलवार , आश्विन १३, २०८३

                                                                फोटो : Ai

विराटनगर,१३ असोज  — तास खेलिरहेको स्थानमा प्रहरी पुगेपछि भएको भागदौडका क्रममा पक्राउ परेका एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् । विराटनगर महानगरपालिका–६ सरोचियास्थित लालु पासवानको घरमा सोमबार राति तास खेलिरहेको अवस्थामा प्रहरीको गस्ती टोली पुगेपछि घटना भएको हो ।

प्रहरीका अनुसार राति करिब साढे ११ बजे तास खेलिरहेका व्यक्तिहरू प्रहरी देखेपछि भाग्न थालेका थिए। सोही क्रममा पक्राउ परेका विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइरालाको मंगलबार बिहान मृत्यु भएको हो । त्यस्तै, भाग्ने क्रममा दुई तलाबाट हामफालेका विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाको दाहिने खुट्टा भाँचिएको छ । उनको श्री अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार प्रहरी टोलीले घटनास्थलबाट आठ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरी पुग्दा तास खेलिरहेको जानकारी नभए पनि गस्तीका क्रममा उक्त स्थानमा पुगेपछि भागदौड भएको उनले बताए। भाग्ने क्रममा कोइराला सामान्य घाइते भएका थिए।

प्रहरीले स्वास्थ्य परीक्षण गर्दा कोइरालाको अवस्था सामान्य देखिएपछि उनलाई अन्य सात जनासँगै सोमबार राति हिरासतमा राखिएको जनाएको छ । मंगलबार बिहान करिब साढे ७ बजे हिरासतमा रहेका कोइराला अचेत अवस्थामा भेटिएका थिए। सँगै रहेका व्यक्तिहरूले उठाउन खोज्दा नउठेपछि प्रहरीले उनलाई उपचारका लागि कोशी अस्पताल पुर्‍याएको थियो ।


कोशी अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई नोबेल शिक्षण अस्पताल लगिएको थियो । नोबेलका चिकित्सकले मंगलबार बिहान करिब ११ बजे उनलाई मृत घोषणा गरेका हुन् । उनको शव हाल नोबेल अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक कोइरालाको यसअघि नै टाउकाको शल्यक्रिया भएको थियो । उनको मृत्युको वास्तविक कारण भने खुल्न बाँकी रहेको डीएसपी मिश्रले जानकारी दिए।

घाइते मुखिया एम्बुलेन्स चालकसमेत हुन् । प्रहरीले घटनास्थलबाट कोइराला र मुखियासहित धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी, ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामतलाई पक्राउ गरेको थियो ।

उनीहरूको साथबाट ४८ हजार ३९५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया