युवतीमाथि पेट्रोल छर्केर आगो लगाउने प्रयास आरोपमा युवक पक्राउ

मंगलवार , आश्विन १३, २०८३

                                                                      फोटो : Ai

झापा,१३ असोज — युवतीको हातखुट्टा बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउने प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको किशनगञ्ज जिल्ला घर भएका तथा हाल झापाको बिर्तामोड नगरपालिका–५ स्थित अमृत भोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलिप चन्द्र राय रहेका छन् ।

प्रहरीका अनुसार रायले इलामको रोङ गाउँपालिका–३ घर भई हाल झापा बिर्तामोडमा डेरा गरी बस्दै आएकी २२ वर्षीया रविना मगरलाई नियन्त्रणमा लिएर आगो लगाउने प्रयास गरेका थिए ।


घटना सोमबार राति करिब साढे १० बजेतिर भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार राय मादक पदार्थ सेवन गरी पेट्रोलसमेत बोकेर मगर बस्ने कोठामा प्रवेश गरेका थिए ।

कोठाभित्र प्रवेश गरेपछि रायले तन्ना च्यातेर मगरको हातखुट्टा तथा घाँटी बाँधेको र शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। प्रहरीले रायलाई नियन्त्रणमा लिएको र घटनामा घाइते भएकी मगरलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल लगिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं प्रहरी उपरीक्षक वसुन्धरा खड्काका अनुसार घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ । “घटना के कारणले भएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ,” उनले भनिन्, “राय र मगरबीचको सम्बन्धका विषयमा समेत अनुसन्धान भइरहेको छ ।”

प्रहरीले घटनासँग सम्बन्धित अन्य पक्षबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया