मेरो राजनीतिक जीवन अहिले एउटा बिसौनीमा पुगेको छ । यही बिसौनीमा केही शक्ति सञ्चय गर्दै आफूलाई अझ धारिलो बनाउने प्रयासमा छु– सक्षम युवाहरू राजनीतिक रङ्गमञ्चमा सशक्त रूपमा नउदाउञ्जेलसम्म । तर यही बिसौनीमा उभिएर आज म आफ्नो विगतको एउटा वाक्यतर्फ फर्केर हेर्न बाध्य भएको छु । १७ वर्षअघि लेखिएको त्यो एउटा वाक्य आज आएर किन यति ठुलो प्रश्न बनेको छ ?
०६६ असार १ मा कान्तिपुर दैनिकमा ‘माओवादी नेतृत्वको सरकारलाई फर्केर हेर्दा’ शीर्षकको लेखमा मैले भनेको थिएँ,“ऐतिहासिक रूपमा आधुनिक नेपालमा हामी तीनजना राजनेता पाउँछौँ– प्रचण्ड, बीपी र महेन्द्र ।”
उक्त लेख प्रधानसेनापतिमाथि गरिएको कारबाही पुनःस्थापित भएपछि प्रचण्ड नेतृत्वको सरकार ‘नागरिक सर्वोच्चता’ को प्रश्न उठाउँदै राजीनामा दिएर बहिर्गमन भएको पृष्ठभूमिमा लेखिएको थियो । पछि यही लेख मेरो पुस्तक ‘माक्र्सवादी दर्शन र जनयुद्ध’ को पहिलो र दोस्रो संस्करणमा पनि समावेश छ । मेरो विगत र वर्तमानका भनाइबिच तादात्म्य नमिलेको लागेमा स्वाभाविक रूपमा प्रश्न उठ्न सक्छ– हिजो किन त्यस्तो र आज किन यस्तो ? कतै १८० डिग्रीको फन्को त भएन ?
आज त्यस भनाइलाई लिएर त्यस्ता प्रश्न उठ्न सक्छन् जुन स्वाभाविक हो । यसलाई अन्यथा रूपमा लिनु हुँदैन । विशेष गरी आज मैले प्रचण्डको विचार, राजनीतिक भूमिका, नेतृत्वशैली र कतिपय राजनीतिक निर्णयहरूमाथि आलोचनात्मक रूपमा बोल्न र लेख्न थालेपछि यस्ता जिज्ञासा उठ्नु झन् स्वाभाविक भएको छ ।
करिब १७ वर्ष अगाडि मैले प्रचण्डको राजनीतिक भूमिका र सम्भावनालाई जुन रूपमा प्रक्षेपण गरेको थिएँ, त्यसलाई आजको यथार्थसँग तुलना नगरी जस्ताको तस्तै दोहो¥याइरहनु उचित हुँदैन । तर वर्तमानको असन्तुष्टि वा राजनीतिक मतभेदका आधारमा विगतको सम्पूर्ण मूल्याङ्कनलाई पूर्वाग्रही भएर उल्टो अतिवादी निष्कर्षमा पु¥याउनु पनि वस्तुनिष्ठ हुँदैन ।
मेरो त्यो ‘राजनेता’ सम्बन्धी मूल्याङ्कन केवल तत्कालीन आग्रह वा व्यक्तिगत निकटताको परिणाम थिएन । गौरवपूर्ण राजनीतिक विगत, जनयुद्ध र त्यसपछिको राजनीतिक परिवर्तनमा प्रचण्डले खेलेको भूमिकालाई आधार बनाएर भविष्यमा उहाँ ‘राजनेता’ को स्तरमा विकसित हुन सक्ने सम्भावनाको प्रक्षेपण थियो ।
तर इतिहासको मूल्याङ्कन स्थिर हुँदैन । मानिस, नेतृत्व र राजनीतिक आन्दोलनको परीक्षण निरन्तर समय र वर्तमानले गरिरहेको हुन्छ । यही सन्दर्भमा मेरो वर्तमान राजनीतिक यात्राबारे पनि केही कुरा स्पष्ट गर्नु आवश्यक छ ।
प्रचण्डसँग एउटै लय र तालमा हिँडुन्जेल उहाँको मप्रतिको नजरिया एकप्रकारको थियो । तर जब पार्टी एकता (२०७५) पछि पार्टी र नेतृत्व ट्र्याकबाट बाहिर हिँड्न थाल्यो, त्यसलाई सही दिशामा फर्काउने प्रयास गर्नु मैले आफ्नो कर्तव्य सम्झेँ– त्यसपछि अन्तर्विरोधहरू तीव्र बन्दै गयो । यो प्रक्रियामा विभिन्न प्रकारका जालझेल र तिकडमको शृङ्खला पनि सुरु भयो । तिकडमको फेहरिस्त दोहो¥याउन चाहन्न, यसअघिका लेखहरूमा समावेश भइसकेका विषय हुन ।
नेपालको राजनीतिमा आफ्नो सीमित चेतना र बुझाइका आधारमा अर्कोलाई तल झारेर आफूमाथि उठ्ने प्रवृत्ति नयाँ होइन । तर मेरो राजनीतिक यात्रामा पद, प्रतिष्ठा र सुविधालाई होइन, आफ्नो चेतनाले भ्याएसम्म राष्ट्र र जनताको हितलाई नै सर्वोपरि ठानेर हिँड्ने प्रयास गरेको छु ।
विगतमा कुनै पद पाउँदा मैले नेतृत्वप्रति उत्साहित हुँदै धन्यवादका शब्दहरू खर्चिनँ, नपाउँदा गुनासो गर्दै पनि हिँडिनँ । ०६३ चैत २३ गते सर्लाहीको मलङ्गवा सदरमुकाम कब्जा र ०६४ चैतमा सम्पन्न संविधानसभा निर्वाचनमा मैले जिम्मेवारी सम्हालेको तत्कालीन कोचिला राज्य (झापा, मोरङ र सुनसरी) मा प्राप्त ऐतिहासिक विजयपछिको एकता केन्द्रसँगको पार्टी एकतामा पनि १६ सदस्यीय केन्द्रीय सचिवालयका लागि योग्य नठहरिँदा अप्ठ्यारा क्षणहरू बिताएको छु । त्यसबेला नारायण गोपालको ‘मुटुमाथि ढुङ्गा राखी हिँड्नु प¥या छ’ भन्ने गीत सम्झँदै आफूलाई सम्हालेँ ।
बरु कतिपय सन्दर्भमा पार्टी संगठनको जिम्मेवारी वा मन्त्री अथवा सोसरहको पदका लागि नेतृत्वबाट प्रस्ताव आउँदा असन्तुष्ट र गुनासो गरिरहेका साथीहरूलाई नै त्यस्ता अवसरका लागि प्रस्ताव गरेको छु ।
आज म कुनै पद वा सांसद नपाएकै कारण प्रचण्डविरुद्ध बोल्न र लेख्न थालेको हुँ भन्ने कुरा पनि सुन्छु, कतै पढ्छु । यस्तै भोगेर कसैले ‘सतीले सरापेको देश’ भनेको होला । यस्तो निराधार आरोप कतिपय सन्दर्भमा नियोजित हुन सक्छ । कतिपयलाई मेरो राजनीतिक जीवन र यात्राबारे पर्याप्त जानकारी नभएका कारण यस्तो धारणा बनेको हुन सक्छ । र कतिपय इमान्दार साथीहरूले अनुशासनलाई एकतर्फी वा यान्त्रिक रूपमा बुझ्दा मप्रति गुनासो हुनु पनि स्वाभाविक हुन सक्छ ।
तर यथार्थलाई त्यसरी मात्र बुझ्नु उचित हुँदैन । तथ्यका आधारमा सत्यको मापन गर्नुपर्ने हुन्छ । ०७५ जेठ ३ मा एमाले र माओवादीबिच भएको अपारदर्शी र रहस्यमयी एकतापछि कम्युनिस्ट आन्दोलनमाथि कालो बादल मडारिन थालेको अनुभूति भयो । प्रचण्डमा आएको विचलन पनि सबैले बुझ्ने गरी क्रमशः स्पष्ट हुँदै गयो । खुशीराम पाख्रिनको ‘देखेको त जालैले छेकेको, छेके पनि छर्लङ्ग देखेको’ भन्ने गीतझैँ बन्यो ।
त्यो कालो बादल चिर्न वा पन्छाउन सकिन्छ कि, देखिएको विचलनलाई रोक्न सकिन्छ कि र आन्दोलनलाई पुनः सही दिशामा फर्काउन सकिन्छ कि भन्ने राजनीतिक चिन्ताले म कतिपय प्रश्नमा प्रचण्डभन्दा पृथक् ढंगले सोच्न र हिँड्न थालेँ । ती पृथक् विचार र दृष्टिकोण के–के थिए भन्ने विषय मैले विभिन्न माध्यमबाट पटक–पटक राख्दै आएको छु । त्यसैले यहाँ तिनै विषय दोहो¥याएर पाठकको समय लिन वा अनावश्यक रूपमा लेखलाई लम्ब्याउन चाहन्नँ ।
पार्टी एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गुटगत समीकरण नबनाउने म र हामीसँग गरिएको प्रतिबद्धताबाट पछि हटेर वामदेव, बादल र विष्णु पौडेलसहित प्रचण्ड ‘भैँसेपाटी समीकरण’ निर्माणतर्फ लागेपछि अन्तर्विरोधले नयाँ रूप लियो । मेरो वर्तमान आलोचनात्मक अभिव्यक्ति र असहमतिलाई बुझ्ने हो भने यही घटनाक्रमलाई त्यसको वास्तविक पृष्ठभूमिको मूल कडीका रूपमा हेर्नु बढी वस्तुनिष्ठ हुन्छ ।
‘भैसेपाटी समीकरण’ को काउन्टरमा केपी ओलीले वामदेव, राम बहादुर थापा (बादल) र विष्णु पौडेलसहितको ‘बालुवाटार समीकरण’ बनाएको पृष्ठभूमिमा संसद् विघटनसँगै पार्टी विभाजन भयो । र, त्यसपछिका निर्वाचनमा नयाँ तथा स्वतन्त्र उम्मेदवारहरूको विजयले त्यतिखेर मैले व्यक्त गरेको राजनीतिक चिन्ता निराधार थिएन भन्ने कुरा समयसँगै पुष्टि भयो ।
निर्वाचन परिणाममा विजयी नयाँ प्रवृत्ति– बालेन, हर्क, हमाल र रविको उदयले परम्परागत दल र नेतृत्व, मुख्यतः वामपन्थी शक्तिप्रति बढ्दै गएको जनअसन्तुष्टिको स्पष्ट सङ्केत थियो । यही पृष्ठभूमिमा जेनजी आन्दोलन अगाडि आयो । ०८२ को संघीय निर्वाचनमा देखिएको लहरलाई त्यसै राजनीतिक असन्तुष्टिको उत्कर्षका रूपमा बुझ्न सकिन्छ ।
यदि नेतृत्वमा रूपान्तरणको वास्तविक सम्भावना देखिएको भए यो प्रश्न यति पेचिलो बन्ने नै थिएन । तर सम्भावना समाप्त भइसक्यो भनेर पनि यान्त्रिक रूपमा घोषणा गर्न पनि मिल्दैन ।
तथ्यका आधारमा सत्यको खोजी गर्ने हो भने एउटा कुरा स्पष्ट छ– यी घटनाक्रममा मुख्य नेतृत्व प्रत्यक्ष रूपमा जोडिएको तथ्य घामजत्तिकै छर्लङ्ग छ । यी सबै अनुभव र घटनाक्रमले मेरो विगतको ‘राजनेता’ सम्बन्धी मूल्याङ्कनलाई आज फेरि सोच्नै पर्ने बनाई दिएको छ । त्यसैले मेरो सामु अहिले एउटा पेचिलो प्रश्न खडा भएको छ– विगतमा गरिएको मूल्याङ्कनलाई आधार मान्ने कि वर्तमानको व्यवहार र परिणामलाई ? विगतको सम्भावनालाई सम्मान गर्ने कि वर्तमानको यथार्थलाई स्वीकार गर्ने ? र अझ महत्त्वपूर्ण प्रश्न– भविष्यका लागि रूपान्तरणको झिनो आशा राख्ने कि नराख्ने ?
म आफ्नो विगतको भनाइको आत्मसमीक्षा गर्न तयार छु । तर आत्मसमीक्षाको अर्थ परिस्थिति र सन्दर्भ नहेरी विगतमा गरेका सबै मूल्याङ्कनलाई अस्वीकार गर्नु होइन । त्यसैगरी, वर्तमानप्रति पूर्वाग्रह राखेर हतारमा निष्कर्ष निकाल्नु र भविष्यमा अझै बाँकी रहेका परिवर्तनका झिनो सम्भावनाका ढोकाहरू पनि बन्द गरिदिनु पनि आत्मसमीक्षा होइन ।
यदि नेतृत्वमा रूपान्तरणको वास्तविक सम्भावना देखिएको भए यो प्रश्न यति पेचिलो बन्ने नै थिएन । तर सम्भावना समाप्त भइसक्यो भनेर पनि यान्त्रिक रूपमा घोषणा गर्न पनि मिल्दैन । ‘सास छउन्जेल आश’ छ भने जस्तै । आखिर मानिस चेतनशील प्राणी हो; चेत खुल्न सक्छ, अनुभवबाट सिक्न सक्छ र परिवर्तन हुन सक्छ । तर यही झिनो सम्भावनालाई आधार बनाएर विगतकै ‘राजनेता’ सम्बन्धी निष्कर्षलाई निरन्तर दोहो¥याउँदै वर्तमानको राजनीतिक स्खलनको यथार्थमाथि पर्दा हाल्नु भने जनता र कार्यकर्तालाई फेरि अँध्यारोमा राख्नु हुन जान्छ ।
त्यसैले आज मेरो निष्कर्ष न त विगतलाई पूरै अस्वीकार गर्ने हो, न त त्यसलाई जस्ताको तस्तै बचाउने । नेतृत्वको ऐतिहासिक भूमिकालाई स्वीकार्दै वर्तमानको राजनीतिक व्यवहार र परिणाममाथि कठोर तथा वस्तुनिष्ठ समीक्षा गर्नु, र भविष्यका लागि रूपान्तरणको बाँकी रहेको न्यून सम्भावनालाई पनि पूर्णतः बन्द नगर्नु नै मेरा लागि बढी इमान्दार दृष्टिकोण हो ।
त्यसैले प्रश्न फेरि पनि उठ्छ– के मैले २०६६ मा व्यक्त गरेको विचारलाई यान्त्रिक रूपमा फिर्ता लिनैपर्ने हो, कि त्यसको ऐतिहासिक सन्दर्भ स्वीकार गर्दै वर्तमानका आधारमा नयाँ संश्लेषण गर्नुपर्ने हो ? मेरो विचारमा इतिहासलाई नकारेर होइन, इतिहासबाट सिकेर र वर्तमानसँग जोडेर मात्र भविष्यप्रतिको सही निष्कर्षमा पुग्न सकिन्छ ।
त्यसैले प्रश्न केवल ‘के मैले कान्तिपुरको एउटा वाक्य फिर्ता लिनैपर्ने भयो त ?’ भन्ने होइन । वास्तविक प्रश्न त यो हो– विगतको निष्कर्षलाई आज कसरी वस्तुनिष्ठ रूपमा संश्लेषण गर्ने, वर्तमानको यथार्थलाई कसरी स्वीकार गर्ने र भविष्यको धुमिल सम्भावनाप्रति कति इमान्दार रहने । मानिसको मूल्याङ्कन जीवित रहँदासम्म मात्र होइन, मृत्यु पश्चात् पनि भईरहन्छ । नयाँ तथ्य उजागर हुन सक्छन् र निष्कर्ष बदलिन सक्छन् । इतिहासको अन्तिम फैसला समयले गर्छ । तर एउटा कुरा भने स्पष्ट छ– वर्तमान नै सबैभन्दा बलवान् प्रमाण हो । र, यतिखेरका लक्षणहरू राम्रो देखिएका छैनन् ।
त्यसैले ‘भीरबाट लड्ने गोरुलाई दया व्यक्त गर्न त सकिन्छ, काँध हाल्न सकिँदैन’ भन्ने उखान सान्दर्भिक बनेको छ । विगतको योगदानको सम्मान गर्नु र वर्तमानको राजनीतिक स्खलनलाई स्वीकार गर्नु यी दुई कुरा एकअर्काका विरोधी होइनन् । न्यून रूपमै भएपनि दया, सद्भाव र रूपान्तरणको सम्भावना रहन सक्छ । तर गलत दिशामा दौडिरहेको यात्राको बोझ आफ्नै काँधमा बोकेर त्यसलाई सही ठह¥याउन सकिँदैन ।
यस विषयमा मुख्यतः पार्टीभित्र आफूलाई अब्बल, इमान्दार र जिम्मेवार ठान्ने सबैले अब गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ । रातोपाटीबाट साभार ।