जेनजी आन्दोलन एक वर्ष पूरा भएको छ । यही बेला डा. मधु घिमिरेले गत भदौ २४ गतेको घटनालाई स्मरण गर्दै फेसबुकमा लेख्नुभएको एउटा स्टाटसले मलाई झल्याँस्स बनायो । उहाँले लेख्नुभएको छ, “गत २०८२ भदौ २४ गते नेपाली सेनाको वास्तविक गल्ती चाहिँ दुईचार बदमास् नेता भनाउँदा भ्रष्ट व्यक्तिहरूलाई बचाउनमा लाग्नु तर देशका महत्वपूर्ण संरचनाहरूको संरक्षणमा नलाग्नु नै हो । यी चोरहरूलाई जनताको हातमा छोडिदिएर भौतिक संरचनाहरूको संरक्षण सराहनीय हुने थियो ।”
लोकतान्त्रिक आन्दोेलनमा जोडिएको एक चिकित्सकको यो टिप्पणी एक वर्षअघिको घटनामाथिको पुनःसमीक्षा हो । त्यसैले तत्कालको आवेग मात्र भनेर यसलाई बुझ्नु हुँदैन । एक वर्षको राजनीतिक यात्रापछि गरिएको मूल्यांकनका रूपमा हेर्दा भदौ २३ र २४ को आन्दोलनको मूल प्रश्न अझै जीवित छ । पुराना भ्रष्ट नेताहरूको अझै ताउरमाउरले त्यो आन्दोलनलाई गिज्याइरहेको छ ।
यो एक वर्षमा नेपालमा सरकार बदलियो । निर्वाचन भयो । मतदाताले आफ्नो फैसला सुनाए । पुराना राजनीतिक समीकरण कमजोर भए । नयाँ राजनीतिक शक्तिको प्रभाव बढ्यो । तर आज पनि मुख्य प्रश्न उही छ, एक वर्षअघि सडकले उठाएको प्रश्नको राजनीतिक जवाफ आयो कि सरकारको अनुहार मात्र बदलियो ? जेलमा पुग्नुपर्ने भ्रष्ट नेता तथा भ्रष्ट उच्च अधिकारीहरू अझै त्यसलाई आत्मसात गरेका छैनन् र वदला लिने मानसिकताका साथ आफूलाई पुनर्संगठित गर्दै हिजोको लूटको स्वर्ग फर्काउन दिवास्वप्न देखिरहेका छन् । असफल प्रयास गरिरहेका छन् ।
हामीलाई थाहा छ, भदौ २३ कुनै एउटा घटनाबाट अचानक जन्मिएको विद्रोह थिएन । त्यो वर्षौँदेखि समाजभित्र जम्मा भइरहेको असन्तोषको विस्फोट थियो । भ्रष्टाचार, सत्ता र शक्तिको दुरुपयोग, परिवारवाद, राजनीतिक संरक्षण र आफ्नै भविष्यप्रति निराश हुँदै गएको पुस्ताको आक्रोश लामो समयदेखि सञ्चित थियो । सामाजिक सञ्जाल बन्द गरिनु तत्कालीन ‘ट्रिगर’ बन्न पुग्यो । तर विस्फोटका लागि बारुद पहिल्यै तयार थियो ।
जसरी जमिनमुनि लामो समयदेखि शक्ति सञ्चित भएपछि भूकम्प आउँछ, त्यसैगरी समाजभित्र लामो समयदेखि पाकिरहेको असन्तोष एउटा कारण पाएपछि सडकमा विस्फोट भएको हो । त्यसैले भदौ २३ लाई सुनियोजित घटनाका रूपमा मात्र व्याख्या गर्नु इतिहासप्रति अन्याय हुन्छ । मूलतः यो पुरानो राजनीतिक संस्कारविरुद्धको सशक्त विद्रोह थियो ।
दशकौँदेखि सत्ताको वरिपरि घुमिरहेका उही अनुहार, उही भाषण, उही आश्वासन र उही शैलीको शासनबाट नागरिक वाक्कदिक्क भएर थाकिसकेका थिए । भ्रष्टाचारका आरोप लागेका नेतामाथि कारबाही नहुने, राजनीतिक पहुँच हुनेलाई राज्य संयन्त्रले फरक व्यवहार गर्ने र जनताको जीवन बदल्नेभन्दा सरकार बनाउने, जोगाउने घिनलाग्दो विचारहीन राजनीति घुमिरहने अवस्थाले नयाँ पुस्तामा ठूलो वितृष्णा पैदा ग¥यो ।
यो असाध्यै रोग शीर्ष नेतामा मात्र पनि थिएन । त्यसपछिका अधिकांश नेताहरू पनि आशको राजनीतिक संस्कारमा सत्ताको चास्नीमा डुबेकै थिए । भलै उनीहरूले राष्ट्रिय स्वाधीनता खतरामा परेको, लोकतन्त्रमाथि आक्रमण भइरहेको ठूलो आवाजमा बताइरहेका हुन्थे । एक समय सकारात्मक भूमिकाका साथ आएका र परिवर्तनको नेतृत्व गर्नुपर्ने पार्टीभित्रकै युवा पुस्ताको एउटा हिस्सा पनि पुरानो नेतृत्वसँग प्रश्न गर्नेभन्दा त्यही नेतृत्वको संरक्षण र राजनीतिक संस्कारभित्र हुर्किए । उनीहरूकै लालनपालनमा, दूध खुवाएर नै हुर्काइए । ती पनि भ्रष्टाचार र अनेक काण्डमा लिप्त भए ।
यही कारण विकल्प पार्टीभित्रबाट जन्मिएन । विकल्प पार्टी बाहिरबाट आयो । बालेन शाहहरूको उदयलाई यही सन्दर्भमा बुझ्नुपर्छ । बालेन स्थापित राजनीतिक दलहरूले सिर्जना गरेको राजनीतिक रिक्ततामा जन्मिएको वैकल्पिक मनोविज्ञानका प्रतिनिधि हुन् । जब दलभित्रका सम्भावित र आशा लाग्दा नेतृत्व मिलिजुली जाने बाँडिचुँडी खानेमा रूमल्लिए, धेरै युवाले आफ्नै नेतृत्वसँग निर्णायक दूरी बनाउन सकेनन्, मतदाताले पुराना दलको झन्डाबाहिर विकल्प खोजेका हुन ।
भदौ २३ गते वाहिरबाट आन्दोलन सिर्जना भएको होइन फागुन २१ गते अमेरिका वा अरू देशका मतदाताले मतदान गरेका होइनन् । देशमा राजनीतिक र सामाजिक आन्दोलनहरू सुस्ताउँदै गएका बेला नै समाजभित्र दबिएर रहेका असन्तुष्टि र आकांक्षाले नयाँ पात्र, नयाँ शक्ति र नयाँ राजनीतिक प्रवृत्तिलाई जन्म दिन्छन् भन्ने कुरा विश्वमा धेरै उदाहरण छन् ।
भदौ २३ को सडक र त्यसपछिको फागुन २१ को निर्वाचन परिणामलाई अलगअलग घटनाका रूपमा हेर्नु हुँदैन । सडकमा देखिएको असन्तोष मतपत्रमा पनि अभिव्यक्त भयो । २०१५ सालको चुनावमा नेपाली कांग्रेसको सुनामी, २०४८ सालमा कांग्रेस र एमालेको वर्चस्व तथा २०६४ सालमा माओवादीको प्रभाव लामो समयको संघर्षपछि निर्माण भएका राजनीतिक शक्तिको उदयसँग जोडिएका थिए । तर, यसपटकको राजनीतिक शक्ति फरक ढंगले जन्मिएको छ । भ्रष्टाचारको विरोध र सुशासनको एजेन्डालाई मुख्य प्राथमिकतामा राखेर यो शक्ति अघि आएको छ । देशमा यसका विरुद्ध आन्दोलन गरिरहेको बलियो शक्ति हुन्थ्यो वा स्थापित पार्टीभित्र शीर्ष नेताहरूको गलत विचार र कार्यशैलीविरुद्ध भदौ २३ गतेअघि नै संघर्ष गरेर उनीहरू विजयी भएको भए राष्ट्रिय स्वतन्त्र पार्टी र बालेनहरू हावी हुने अवस्था नै आउने थिएन ।
एक समय परिवर्तन र अग्रगमनका लागि आन्दोलनको नेतृत्व गरेका राजनीतिक शक्तिहरू कानुनी रूपमा अस्तित्वमा भए पनि व्यवहारमा विघटित र जनताबाट टाढिँदै गए । तिनको नेतृत्वले गरेको अभिव्यक्ति र आचरणबीच अन्तरविरोध भयो । तिनका क्रियाकलाप, कार्यशैली क्रमशः पश्चगामी बन्दै गएको देखिन्छ ।
यही पृष्ठभूमिमा पुराना राजनीतिक शक्तिप्रतिको मोहभंग र नयाँ राजनीतिक चेतनाको खोजलाई बुझ्न डा. मधु घिमिरेको प्रसंग अर्थपूर्ण हुन्छ । डा. मधु घिमिरे लोकतान्त्रिक आन्दोलनमा जोडिएको परिवारको सदस्य मात्र होइन, आफैं पनि त्यो आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको व्यक्तित्व हुनुहुन्छ ।
एक समय अग्रगामी भूमिका खेलेका राजनीतिक शक्ति र तिनका नेतृत्व जब आफ्नै आन्दोलनका मूल्य र आदर्शबाट विचलित हुँदै पश्चगामी भूमिकामा रूपान्तरण भए, त्यसबाट उत्पन्न असन्तुष्टि एउटा व्यक्तिको मात्र आवेग होइन । आफ्नै क्षेत्रबाट जोखिम मोलेर समाज र लोकतान्त्रिक आन्दोलनमा योगदान दिएका ऐतिहासिक पात्रहरूमा देखिएको यो आवेग समाजको ठूलो हिस्सामा पैदा भएको राजनीतिक असन्तोषकै अभिव्यक्ति हो । डा. मधु घिमिरेको एउटा ऐतिहासिक भूमिकाको यहाँ स्मरण गर्नु सान्दर्भिक हुन्छ ।
त्यतिबेला डा. मृगेन्द्रराज पाण्डे सुन्दरीजलमा बन्दी जीवन बिताइरहनुभएका बीपी कोइरालाको नियमित उपचारमा संलग्न हुनुहुन्थ्यो । एक दिन बीपीको स्वास्थ्य असाध्यै बिग्रिएको महसुस भएपछि डा. पाण्डेले डा. मधु घिमिरेलाई बोलाउनुभयो । उहाँले डा. मधुलाई एउटा महत्वपूर्ण जिम्मेवारी दिनुभयो, बीपीको स्वास्थ्य अवस्थाबारे राजनीतिक तहमा जानकारी पु¥याउने ।
सहोदर दाजु शंकर घिमिरेसँगका कारण डा. मधुलाई त्यो जिम्मेवारी पूरा गर्न सहज थियो । तर यो पारिवारिक सम्बन्धका कारण प्राप्त भएको अवसर मात्रै थिएन । त्यो समयको राजनीतिक जोखिमबीच लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भूमिकाका कारण विश्वास गरिएको थियो ।
डा. मधुले बीपीको गम्भीर स्वास्थ्य अवस्थाबारे एउटा रिपोर्ट तयार गर्नुभयो । त्यसपछि उहाँ आफ्ना दाजु शंकर घिमिरेसँगै उक्त रिपोर्ट लिएर बीपीका आफन्त तथा अधिवक्ता गणेशराज शर्माकहाँ पुग्नुभयो । तर त्यहाँ उहाँहरूले अपेक्षा गरेअनुसारको प्रतिक्रिया पाउनुभएन । त्यसपछि उहाँहरू सूर्यप्रसाद उपाध्यायसम्म पुग्नुभयो । कांग्रेसभित्र बीपीसँग राजनीतिक मतभिन्नता राख्ने नेताका रूपमा चिनिनुभएका सूर्यप्रसाद स्वयं पनि लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण पात्र हुनुहुन्थ्यो । उहाँमाथि इतिहासमा अनेक आरोप र विवाद जोडिएका प्रसंग छन्, जसबारे स्वयं बीपीले पनि प्रश्न उठाउनुभएको छ । तर, बीपीको स्वास्थ्य संकटका बेला सूर्यप्रसादले खेलेको भूमिका भने निकै सराहनीय देखिन्छ ।
सूर्यप्रसादले रिपोर्ट पढेपछि त्यसलाई गम्भीर रूपमा लिनुभयो । डा. मधुले तयार गरेको रिपोर्टको ठूलो संख्यामा प्रतिलिपि बनाउन लगाएर काठमाडौँस्थित विदेशी दूतावास तथा प्रभावशाली अन्तर्राष्ट्रिय सम्पर्कमा पु¥याउने काम गरियो । जेलमा रहनुभएका बीपीको स्वास्थ्यबारे सार्वजनिक दबाब सिर्जना गर्न चिकित्सकीय रिपोर्टलाई अन्तर्राष्ट्रिय कूटनीतिकवृत्तसम्म पु¥याउनु आफैंमा राजनीतिक रणनीति पनि थियो ।
डा. मधु घिमिरेका दाजु शंकर घिमिरे लोकतान्त्रिक आन्दोलनका अगुवामध्ये एक हुनुहुन्थ्यो । २०१७ सालको शाही ‘कु’पछि काठमाडौंमा प्रतिरोध निर्माण गर्ने क्रममा शंकर घिमिरे, कमल चित्रकार र दमननाथ ढुंगानाको भूमिका महत्त्वपूर्ण मानिन्छ । वरिष्ठ पत्रकार किशोर नेपालले शंकर घिमिरेलाई संगठन र व्यवस्थापन, दमननाथ ढुंगानालाई युवाहरूमाझ लोकप्रियता र कमल चित्रकारलाई जनशैलीका कारण प्रभावशाली ‘त्रोइका’का रूपमा स्मरण गर्नुभएको छ । त्यतिबेला लोकप्रियता हासिल गर्न अहिलेको जस्तो सामाजिक सञ्जाल थिएन । लाइक र सब्स्क्राइबर बढाउने सुविधा थिएन । लोकप्रियता र जनविश्वास कमाउन जोखिमपूर्ण संघर्षमा होमिनुपथ्र्यो ।
शंकर घिमिरे २०२८ सालको स्नातक निर्वाचनमा कांग्रेसका उम्मेदवार बन्नुभएको थियो । उहाँ सूर्यप्रसाद उपाध्यायसँग निकट राजनीतिक सम्बन्धमा हुनुहुन्थ्यो । त्यसैले बीपीको स्वास्थ्यसम्बन्धी रिपोर्ट लिएर सूर्यप्रसाद उपाध्यायसम्म पुग्नु र त्यसलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याएर तत्कालीन निरंकुश पञ्चायती शासकमाथि दबाब सिर्जना गर्ने अवस्था बन्नुमा उहाँहरूबीचको राम्रो सम्बन्ध, विश्वासको महत्वपूर्ण भूमिका थियो ।
शंकरको राजनीतिक जीवनको अन्त्य पनि संघर्षकै क्रममा भयो । पञ्चायतविरुद्धको संघर्षमा उहाँमाथि मुद्दा थियो । त्यही मुद्दाको तारिखमा बिराटनगर जाँदै गर्दा भएको कार दुर्घटनामा उहाँको २०४० सालमा निधन भयो । उहाँकी जीवनसंगिनी सुप्रभा घिमिरे पनि पछि प्राध्यापक संघको अध्यक्ष हुँदै २०६४ मा काठमाडौं ४ बाट सभासदमा प्रत्यक्षमा निर्वाििचत हुनुभयो ।
डा. मधु घिमिरे २०४६ सालको जनआन्दोलनमा उहाँ सक्रिय भएका कारण पक्राउ पर्नुभयो । बहुदलीय व्यवस्था पुनःस्थापनापछिको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका चिकित्सक सल्लाहकार रूपमा समेत जोडिनुभयो । कोइरालाको स्वास्थ्य उपचारमा डा. घिमिरेको महत्वपूर्ण भूमिका थियो ।
भदौ २४ मा संसद्, सिंहदरबार, सर्वोच्च अदालत, शीतल निवासलगायत महत्वपूर्ण राज्य संरचनामा भएको आगजनी र तोडफोड आन्दोलनको गम्भीर नकारात्मक पक्ष हो । जुन कुरालाई डा. मधुले पनि चिन्ता जाहेर गर्नुभएको छ । सार्वजनिक सम्पत्ति, राज्यका संरचना र ऐतिहासिक दस्तावेज नष्ट हुनु कुनै पनि कोणबाट स्वीकार्य हुन सक्दैन । सुरक्षा निकायले कहाँ कस्तो भूमिका खेल्यो, महत्वपूर्ण संरचनाको सुरक्षा किन कमजोर भयो र राज्य संयन्त्रले समयमै प्रभावकारी प्रतिक्रिया दिन किन सकेन भन्ने प्रश्नको जवाफ एक दिन अवश्य आउला ।
तर आगजनीको आलोचना गर्दै गर्दा त्यसअघि समाजमा जम्मा भएको आक्रोशलाई ढाक्न भने मिल्दैन । भवन किन जल्यो भन्ने प्रश्नसँगै समाजको मन किन जल्यो भन्ने प्रश्न अझ महत्वपूर्ण छ । किन एउटा पुस्ता, अनि समाजको ठूलो हिस्साले राज्यसँग यति ठूलो दूरी महसुस ग¥यो ? किन पुरानो नेतृत्वप्रतिको विश्वास यति कमजोर भयो ? किन पार्टीभित्र रहेका युवाले आफ्नै नेतृत्वलाई चुनौती दिएर नयाँ राजनीतिक संस्कार निर्माण गर्न सकेनन् ?
डा. मधु घिमिरेले फेरि लगत्तै पुराना पार्टीहरूका युवाहरूलाई आव्हान गर्दै अंग्रेजीमा यस्तो स्टाटस लेख्नुभएको छ, ’आआफ्नो विचारधाराप्रति सच्चा प्रतिबद्धता राख्ने र आफूले सही ठानेको बाटोबाट जनताको सेवा गर्ने उत्कट चाहना भएका कांग्रेस र एमालेका नेता–कार्यकर्ता तथा आम पंक्तिका साथीहरूलाई म यति मात्र भन्न चाहन्छु, तपाईंहरूका पार्टीका नेतृत्वले तपाईंहरूलाई असफल मात्र बनाएनन्, उनीहरूले तपाईंहरूलाई धोका दिए र ठगे पनि । कुनै पनि विचारधाराप्रति पक्षपात नगरी म तपाईंहरू सबैप्रति सम्मान व्यक्त गर्छु । तपाईंहरूले देश र जनताको सबैभन्दा राम्रो सेवा यही विचारधाराबाट हुन्छ भन्ने विश्वास र आस्था राखेर जुन विचारधारा रोज्नुभयो, त्यो तपाईंहरूको आफ्नो विश्वास हो । त्यसप्रति मेरो कुनै आपत्ति छैन । म तपाईंहरूको आस्थाको सम्मान गर्छु । तर, तपाईंहरू सबैसँग मेरो एउटा अनुरोध छ, आफ्नो बाटोबाट वर्तमान नेतृत्वलाई हटाउनुहोस् । उनीहरू जनताको हितभन्दा आफ्नै स्वार्थमा केन्द्रित भएका बेइमान र बदमासहरू मात्र हुन् । रातोपाटीबाट साभार ।
भदौ २३ को सबैभन्दा ठूलो सन्देश यही हो, समाजको ‘कमन सेन्स’ बदलिइसकेको थियो तर राजनीतिक नेतृत्वको चरित्र बदलिएको थिएन । मतदाता बदलिएका थिए । नेतृत्वको भाषा उही थियो । नागरिकले विकल्प खोज्न थालिसकेका थिए । दलका शिर्ष नेताहरू भने पुरानो समीकरणमै रमाइरहेका थिए ।
भदौ २३ ले सडकमा प्रश्न ग¥यो । त्यसपछिको निर्वाचन परिणामले मतपत्रबाट त्यही प्रश्न दोहो¥यायो । अब मूल परीक्षा सत्तामा पुगेकाहरूको हो ।
के राज्यको चरित्र बदलियो ? के शासन गर्ने शैली बदलियो ? के भ्रष्टाचार र शक्तिको दुरुपयोगविरुद्धको व्यवहार बदलियो ? के राजनीतिक दलभित्र प्रश्न गर्ने संस्कार जन्मियो ? के युवाले आफ्नै नेतृत्वलाई जवाफदेही बनाउन सक्ने ठाउँ पाए ? यदि यी प्रश्नको जवाफ अझै अस्पष्ट छ भने जेनजी आन्दोलनको राजनीतिक अध्याय समाप्त भएको छैन । समाज रूपान्तरणको अभियान अधुरो नै छ ।
सडकले आफ्नो काम गरिसकेको छ । मतदाताले आफ्नो फैसला सुनाइसकेका छन् । अब परिवर्तनको प्रमाण भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ ।
एक वर्षपछि इतिहासले फेरि उही प्रश्न सोधिरहेको छ, सरकार बदलियो, निर्वाचनको परिणाम बदलियो तर के राजनीतिक चरित्र बदलियो त ?
यदि यसको जवाफ अझै ‘हो’ भन्न सकिने अवस्थामा पुगेको छैन भने भदौ २३ को सम्बोधन वास्तविक अर्थमा भएकै छैन । जनताले बाटो देखाइसकेका छन् । अब परिवर्तनको प्रमाण व्यवहारमा देखिनुपर्छ । ताकि अर्को पटक प्रश्न फेरि सडकले सोध्न नपरोस् ।