काठमाडौं – कलाकार जितु नेपालले गाईजात्राको अवसरमा हाँस्य प्रस्तुति ‘मुन्द्रेको हाँस्यव्यंग्य सामाग्री २०८२’ ल्याउनुभएको छ ।
पहिलो भाग ‘गाईजात्रे बजेट भाषण’ मंगलबार नेपालको आफ्नै युट्युब च्यानल ‘जितु कमेडी’, टिकटक र रिल्समा सार्वजनिक गरिएको छ ।
उक्त ‘व्यर्थ मन्त्रीको बजेट भाषण’मा संसद् भवनभित्र सभामुख, मन्त्री र सांसदको संवादमार्फत व्यंग्य गरिएको छ । चार भिन्न भागका गाईजात्रे कोसेली ४/४ दिनको फरकमा आउने उहाँले बताउनुभयो ।
उहाँले यसवर्षको व्यंग्यको केन्द्रमा राजनीतिलाई राख्नुभएको छ । पहिलो भागमा बजेट प्रस्तुत गर्ने मन्त्रीलाई कटाक्ष गरेका उहाँले अन्य भागमा राजनीतिबाट सन्यास लिने नेतालाई पनि कटाक्ष गर्नु भएको छ । “अर्को माताजस्तै महाराजतिर, मन्त्रीको हरिबिजोग र गरुण पुराण पनि प्रहसनका विषय छन्” उहाँले भन्नुभयोे ।
गाईजात्रा हाँस्यव्यंग्यको पर्व भएको कारणले पनि यसलाई जोगाइराख्न आफूले कमेडी सामाग्री सार्वजनिक गरेको नेपालले बताउनुभयो । यसअघि उहाँले लामो समय स्टेजमार्फत गाईजात्रा पस्किँदै आउनुभएको थियो ।
तर, दर्शकको हेर्ने माध्यम भिन्न भएकाले संस्कृतिलाई प्रवर्धन गर्न युट्युबजस्ता डिजिटल माध्यममा कन्टेन्ट ल्याएको उहाँको भनाई छ । तर, स्टेजमा जस्तो दर्शकसँग प्रत्यक्ष अन्तक्रिया डिजिटल माध्यममा नहुने भएकाले स्टेजमा जस्तो मजा नहुने उहाँले बताउनुभयो । “हामीले भ्यूज र कमेन्टको आधारमै दर्शकसँग डिजिटल माध्यमबाट अन्तक्रिया गरिरहेका छौं” उहाँले भन्नुभयो ।
फिल्मतिरको कुरा गर्दा, जितुले ‘परालको आगो’ आफूले छाडेको बताउनुभयो । दशैंमा छायांकन गर्नुपर्ने भएकाले आफूले नभ्याउने उहाँको भनाइ छ । अर्को फिल्म ‘कार्की साइँला’ भने नछाडेको उहाँले बताउनुभयो । “छायांकन गर्नुपर्ने अरुण खोलामा बाढी आएकाले तत्काले छायांकन रोकिएको मात्र हो । मिडियामा आएका हल्लामा सत्यता छैन” उहाँले भन्नुभयो ।
उहाँले दीपकराज गिरीसँगको फिल्म ‘पाँच पाण्डव’को पटकथा लेखनमा काम भैरहेको बताउनुभयो । यसबाहेक, ‘मुन्द्रेको कमेडी क्लब’को चौंथो सिजन पनि ल्याउने तयारी भैरहेको उहाँले बताउनुभयो ।
https://youtu.be/Ebyovzk9t_Q