शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

‘भुइँचालो’ र ‘रेशम फिलिली’को संयोग

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौँ – वि.सं २०७२ साल वैशाखको ११ गतेबाट फिल्म ‘रेशम फिलिली’ रिलिज भयो । यो फिल्मको ‘जालमा’ गीतले दर्शकको उच्च साथ पाएको थियो । वैशाखको ११ गतेबाट फिल्म रिलिजमा आएपनि भोलिपल्ट शक्तिशाली भुइँचालो गयो ।

वैशाखको १२ गते नेपालमा शक्तिशाली भुइँचालो गएपछि यो फिल्मको रिलिज पोष्टपोन्ड भयो । पछि निर्माणपक्षले भदौमा फिल्म रिलिज गरेको थियो ।

अहिले हलमा ‘फेरि रेशम फिलिली’ चलिरहेको छ । यो फिल्म फागुनको १४ गतेबाट रिलिजमा आएको हो । तर, फागुनको १६ गते बिहानीपख फेरि नेपालमा भूकम्प गयो । सिन्धुपाल्चोकलाई केन्द्रविन्दु पारेर भुइँचालो गएपछि सामाजिक संजालमा फेरि ‘फेरि रेशम फिलिली’को चर्चा भइरहेको छ । सामाजिक संजालमा ‘रेशम फिलिली र भूँइचालो’बिचको संयोग के हो भनेर पनि स्टाटस खुबै लेखिएको छ । हाँस्य कलाकार केदार घिमिरेले लेख्नुभएको छ,“रेशम फिलिली र भुइँचालो बीचको सम्बन्ध के हो ?”

हलमा लागिरहेको यो फिल्मले दर्शक र समीक्षकको उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । रौनक विक्रम कँडेलको निर्माणमा निरोज महर्जनले निर्देशन गरेको यो फिल्ममा विनय श्रेष्ठ, निर शाह, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया लगायतका कलाकारहरुको अभिनय छ । फिल्मले उत्कृष्ट समीक्षा पाएका कारण पनि वर्ड अफ माउथका कारण दर्शकको संख्या बढ्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया