शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

हिमाललाई सीमारेखा होइन, सहकार्यको प्रयोगशाला बनाऔँ : प्रधानमन्त्री शाह

शुक्रवार , आश्विन ९, २०८३

काठमाडौँ, ०९ असोज – प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण बढ्दो जोखिम न्यूनीकरण गर्न नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गर्न प्रस्ताव गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी, पारिस्थितिक प्रणाली, कृषि तथा जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएको उल्लेख गरे  । उनले हिमालय क्षेत्र पृथ्वीको जीवन प्रणालीको महत्वपूर्ण आधार भएकाले यसको संरक्षण र दिगो व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए ।

प्रस्तावित संयन्त्रमार्फत स्याटेलाइट तथ्यांक, वैज्ञानिक ज्ञान र विशेषज्ञता आदानप्रदान गर्ने, जोखिमयुक्त हिमतालको निरन्तर निगरानी गर्ने, संयुक्त पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने तथा विपद्का समयमा सीमापार मानवीय सहायता र समन्वयलाई सुदृढ गर्ने लक्ष्य रहेको प्रधानमन्त्री शाहले जानकारी दिए ।

उनले हिमालयलाई विभाजित सूचना र भौगोलिक सीमाको क्षेत्रका रूपमा नभई अन्तर्राष्ट्रिय सहकार्य, अनुसन्धान र समाधान खोज्ने साझा प्रयोगशाला बनाउनुपर्नेमा जोड दिए । नेपालले आफ्नो पारिस्थितिक योगदानभन्दा पनि ठूलो विश्वव्यापी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनले नेपालको भूभागको करिब आधा क्षेत्रमा वन पुनःस्थापना गरिएको जानकारी गराए ।

जलवायु परिवर्तनसँग जुध्न स्वच्छ ऊर्जाको विकासलाई प्राथमिकता दिइरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपालमा जलविद्युत् विस्तार, विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि र स्थानीय तहमा जलवायु अनुकूलनका कार्यक्रमलाई सुदृढ बनाउने काम भइरहेको बताए ।

बढ्दो प्राकृतिक विपद्को चुनौती सामना गर्न नेपालले थप तयारी र क्षमता विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले एक महिनाअघि नेपालको हिमाली क्षेत्रमा आएको बाढी केवल नेपालको मात्र समस्या नभई विश्व समुदायका लागि गम्भीर चेतावनी भएको बताए ।
प्रधानमन्त्री शाहले हिमाली क्षेत्रको संरक्षण विश्वव्यापी वातावरणीय सुरक्षासँग जोडिएको विषय भएकाले साझा प्रयास, वैज्ञानिक सहकार्य र प्रभावकारी पूर्वतयारीमार्फत आगामी चुनौती सामना गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया