शुक्रवार, कार्तिक २० गते २०८३

Friday 6th November 2026

तिहार सुरु भएसँगै आज धनतेरस, सुनचाँदी र नयाँ भाँडाकुँडा किन्ने दिन

शुक्रवार , कार्तिक २०, २०८३

काठमाडौं,२० कात्तिक – नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत् रूपमा सुरु भएको छ । तिहारको पहिलो दिन आज देशभर धनतेरस पर्व मनाइँदैछ । धन, समृद्धि र आरोग्यको कामनासहित मनाइने यस पर्वमा नयाँ सुनचाँदीका गरगहना, सिक्का तथा विभिन्न धातुबाट बनेका भाँडाकुँडा खरिद गरी घरमा भिœयाएर पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा छ । धनतेरससँगै बजारमा सुनचाँदी, तामा, पित्तललगायत धातुका सामग्रीको खरिदबिक्री बढ्ने अपेक्षा गरिएको छ ।

हिन्दू धार्मिक मान्यताअनुसार धनतेरसलाई धन, वैभव र स्वास्थ्यसँग जोडेर हेर्ने गरिन्छ । यस दिन नयाँ धातुका सामग्री खरिद गर्दा घरमा सुख, शान्ति, समृद्धि र सौभाग्य भित्रिने विश्वास छ । यही विश्वासका कारण सर्वसाधारणले धनतेरसका अवसरमा नयाँ भाँडाकुँडा, गरगहना तथा सुनचाँदीका सिक्का किन्ने गर्छन् ।

यस वर्ष तिथिको घटबढका कारण तिहारको परम्परागत पाँचदिने पर्व छ दिनसम्म लम्बिएको छ । चन्द्रमासअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म तिहार मनाउने परम्परा रहे पनि यसपटक तिथिको अवस्थाका कारण पर्वका विभिन्न धार्मिक अनुष्ठान फरक–फरक दिनमा परेका हुन् ।

सूर्योदयका समयमा आज द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी तिथि सुरु हुने भएकाले आजै धनतेरस मनाउन लागिएको हो । पण्डित नारायणप्रसाद दुलालका अनुसार आज बिहान ११ बजेर १० मिनेटपछि सुरु हुने त्रयोदशी तिथि भोलि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ । त्रयोदशीकै दिन मनाइने कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि शनिबार परेको छ ।

त्यसैगरी आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा गरिनेछ भने सोही दिन साँझ घरघरमा दीप प्रज्वलन गरी धनकी देवी लक्ष्मीको पूजा आराधना गरिनेछ । कात्तिक २५ गते भाइटीका मनाइनेछ । भाइटीकासँगै दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव तथा आत्मीयताको पर्व तिहारले विशेष पूर्णता पाउनेछ ।

मिथिला क्षेत्रमा भने कात्तिक कृष्णपक्षको त्रयोदशीका दिन साँझ दीपमालिका गर्ने विशेष परम्परा छ । यस दिन धातुका भाँडाकुँडा, गहना, खरेटो तथा धनियाँलगायतका सामग्री खरिद गर्ने चलनसमेत रहेको छ । धार्मिक विश्वास र स्थानीय संस्कृतिसँग जोडिएका यस्ता परम्पराले धनतेरसलाई थप विशेष बनाएका छन् ।

यसैबीच धनतेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनचाँदीका सिक्का बिक्रीलाई निरन्तरता दिएको छ । बबरमहलस्थित राष्ट्र बैंकको कार्यालयबाट बिहीबारदेखि सुरु गरिएको सुनचाँदीका सिक्का बिक्री आज पनि जारी रहनेछ । धनतेरसका अवसरमा सुनचाँदीका सिक्का खरिद गर्ने सर्वसाधारणलाई लक्षित गरी राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो ।

धनतेरससँगै सुरु भएको तिहारले अबका दिनमा काग, कुकुर, गाई र लक्ष्मीपूजादेखि भाइटीकासम्म घरआँगनमा दीपावली, पूजा, पारिवारिक भेटघाट र उल्लासको वातावरण सिर्जना गर्नेछ । धार्मिक आस्था, सांस्कृतिक परम्परा र पारिवारिक आत्मीयताको संगमका रूपमा रहेको तिहारले नेपाली समाजमा आपसी सद्भाव र एकताको सन्देशसमेत प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया