शुक्रवार, कार्तिक २० गते २०८३

Friday 6th November 2026

सिन्धुलीमा लागूऔषध सेवन गर्ने पाँच चालक पक्राउ

शुक्रवार , कार्तिक २०, २०८३

सिन्धुली,२० कात्तिक – चाडपर्वलाई लक्षित गरी सडक सुरक्षा निगरानी कडा पारिएको अवस्थामा सिन्धुलीमा लागूऔषध सेवन गरी सवारी चलाएको परीक्षणबाट पुष्टि भएका पाँच जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्लाको कमलामाई नगरपालिका वडा नं. ६ स्थित माझीटार चेकपोष्टमा शुक्रवार ट्राफिक प्रहरीसहितको प्रहरी टोली र जनस्वास्थ्य कार्यालय सिन्धुलीबाट खटिएका स्वास्थ्यकर्मीको संयुक्त टोलीले विशेष जाँच सञ्चालन गरेको थियो ।

बीपी राजमार्गअन्तर्गत आवतजावत गर्ने यात्रुवाहक सवारी साधन रोकेर चालकहरूको लागूऔषध सेवनसम्बन्धी परीक्षण गरिएको थियो। त्यस क्रममा टीएचसी र्‍यापिड टेस्ट क्यासेट (युरिन) प्रयोग गरी गरिएको परीक्षणमा पाँच जना चालकको नतिजा पोजेटिभ आएको सम्बन्धित निकायले जनाएको छ ।

परीक्षणबाट लागूऔषध सेवन गरेको संकेत देखिएपछि ती पाँचै जना चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ ।

चाडपर्वका बेला यात्रुवाहक सवारी साधनको चाप बढ्ने र चालकको असावधानीले यात्रुको ज्यान जोखिममा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरी र स्वास्थ्यकर्मीको संयुक्त टोलीले यस्तो परीक्षण सञ्चालन गरेको हो । सडक सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको उक्त निगरानीले लागूऔषध सेवन गरेर सवारी चलाउने प्रवृत्तिमाथि नियन्त्रणको प्रयासलाई थप सशक्त बनाएको छ।सडक सुरक्षालाई प्रभावकारी बनाउन चालकको स्वास्थ्य अवस्था तथा लागूऔषध सेवनसम्बन्धी परीक्षणलाई निरन्तरता दिनुपर्ने आवश्यकता यस घटनाले पुनः उजागर गरेको छ ।

प्रतिक्रिया