सिन्धुली ,०३ असोज – सिन्धुलीको कमलामाई नगरपालिका–१३ माथिल्लो रानिबासमा भएको घटनामा ढुंगा प्रहारबाट एक वृद्धा महिला गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शुक्रवार साँझ करिब ५ः३० बजे भएको घटनामा ७१ वर्षीया मन्जु रम्तेल घाइते भएकी हुन् ।
प्रहरीका अनुसार स्थानीय गोपाल रम्तेलले आफ्नी श्रीमतीलाई गालीगलौज गरेको विषयमा विवाद भएपछि उनका भाइ सन्तोष रम्तेललाई प्रहार गरिएको ढुंगा लाग्दा मन्जु रम्तेल घाइते भएकी थिइन् । टाउकोमा गम्भीर चोट लागेपछि उनलाई उपचारका लागि सिन्धुली जिल्ला अस्पताल ल्याइएको थियो ।
अस्पतालमा कार्यरत प्रहरी कर्मचारीले शनिवार बिहान १ः४० बजे घटनाबारे जानकारी गराएपछि इलाका प्रहरी कार्यालय भीमानबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले कुटपिटमा संलग्न भएको आरोप लागेका २१ वर्षीय गोपाल रम्तेललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।
थप उपचार आवश्यक भएपछि घाइते मन्जु रम्तेललाई शनिवार बिहान २ः३० बजे काठमाडौंस्थित वीर अस्पतालमा रेफर गरिएको छ ।