शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

विद्यार्थीमाथि यौन दुर्व्यवहारको आरोपपछि प्रधानाध्यापक निलम्बित

शनिवार , आश्विन ३, २०८३

 

सिन्धुली,०३ असोज – सिन्धुलीको सुनकोशी गाउँपालिका–३, झाँगाझोलीस्थित श्री माध्यमिक विद्यालय गुठबजारका प्रधानाध्यापक विनोद न्यौपाने निलम्बनमा परेका छन् । सोही विद्यालयमा अध्ययनरत एक बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप सार्वजनिक भएपछि गाउँपालिकाको शिक्षा समितिले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

प्रधानाध्यापक न्यौपानेमाथि लागेको आरोपसम्बन्धी समाचार यसअघि सार्वजनिक भएको थियो । उक्त विषय बाहिरिएपछि घटनाबारे छलफल गर्न पीडित भनिएकी बालिकाका अभिभावकलाई विद्यालयमा बोलाइएको थियो । तर, छलफलका लागि तय गरिएको दिन शुक्रवार प्रधानाध्यापक न्यौपाने विद्यालयमा उपस्थित भएनन् । उनी विद्यालय प्रशासन तथा गाउँपालिकाको सम्पर्कमा समेत नरहेको बताइएको छ ।

सुनकोशी गाउँपालिका अध्यक्ष दीपा बोहरा दाहालका अनुसार न्यौपाने पालिकाको सम्पर्कमा नआएपछि शिक्षा समितिको बैठक बसेर उनलाई निलम्बन गर्ने निर्णय गरिएको हो । प्रधानाध्यापक निलम्बनमा परेपछि विद्यालय व्यवस्थापन समितिले शिक्षक भीमप्रसाद आरनलाई कार्यवाहक प्रधानाध्यापकको जिम्मेवारी दिएको छ ।

घटना सार्वजनिक भएसँगै न्यौपानेको विगतको व्यवहारबारे समेत विभिन्न दाबी र गुनासा सार्वजनिक हुन थालेका छन् । केही व्यक्तिले उनले यसअघि पनि पटक–पटक यस्तै प्रकृतिका गतिविधि गरेको आरोप लगाएका छन् । ती आरोप स्वतन्त्र रूपमा पुष्टि भइसकेका छैनन् । घटनासँग सम्बन्धित व्यक्तिहरूले विगतमा पनि यस्ता विषय राजनीतिक प्रभावका कारण दबाइएको दाबी गरेका छन् । स्थानीयस्तरमा यसपटकको घटना सार्वजनिक नभएको भए विषय गुपचुपमै सीमित हुन सक्ने आशंका व्यक्त गरिएको छ ।

यसैबीच, प्रधानाध्यापक न्यौपानेमाथि लागेको आरोपसम्बन्धी समाचार सार्वजनिक भएपछि त्यसको प्रमाण र समाचारमा व्यक्तिको नाम उल्लेख गरिएको विषयलाई लिएर विभिन्न प्रतिक्रिया आएका छन् । केही माओवादी कार्यकर्ताले “प्रमाणबिना व्यक्तिको नाम किटान गर्न नमिल्ने र त्यसको सम्पूर्ण जिम्मेवारी समाचार लेख्ने पक्षले लिनुपर्ने” आशयका सन्देश तथा फोन गरेका  छन ।

न्यौपानेलाई माओवादी निकट मानिने उल्लेख गर्दै केही व्यक्तिले उनीमाथिको आरोपप्रति असहमति जनाएको तथा उनले त्यस्तो कार्य गर्न नसक्ने दाबीसमेत गरेको बताइएको छ । यस्ता प्रतिक्रियापछि स्थानीयस्तरमा घटनालाई राजनीतिक प्रभावमार्फत कमजोर पार्ने प्रयास हुन सक्ने आशंका पनि व्यक्त गरिएको छ । यद्यपि, आरोप, राजनीतिक सम्बन्ध र विगतका गतिविधिसम्बन्धी दाबीहरूको आधिकारिक निकायबाट स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

घटनाको संवेदनशीलता र बालिकासँग सम्बन्धित विषय भएकाले पीडितको गोपनीयता, सुरक्षा र कानुनी अधिकारको संरक्षण गर्दै निष्पक्ष अनुसन्धान आवश्यक देखिएको छ । सम्बन्धित प्रशासनिक निकायले समेत घटनाबारे अनुसन्धान सुरु गरेको बुझिएको छ ।

प्रधानाध्यापकलाई निलम्बन गर्ने निर्णय भने अनुसन्धानको अन्तिम निष्कर्ष नभई विद्यालय तथा पालिकाले अपनाएको प्रशासनिक कदम हो। अब अनुसन्धानबाट प्राप्त प्रमाण, सम्बन्धित पक्षका बयान तथा प्रचलित कानुनअनुसार घटनाको वास्तविकता र कानुनी जिम्मेवारीबारे निष्कर्षमा पुगिनेछ । स्रोत ः सिन्धुली मंसिर चार

प्रतिक्रिया